कांग्रेस छाडेर माओवादी प्रवेश गरेका माझीले पाए गाउँपालिका अध्यक्षको टिकट

सोमबार, ०५ कार्तिक २०८१
विराटनगर । आगामी स्थानीय तह उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले अर्कै पार्टीबाट प्रवेश गरेकालाई मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको टिकट दिएको छ । माओवादीले गाउँपालिकामा अध्यक्षको उम्मेदवार सोमबार घोषणा गरेको हो । घोषणाअनुसार केही समयअघि मात्रै नेपाली कांग्रेस छाडेर माओवादी प्रवेश गरेका नमोनारायण माझीले गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने अवसर पाएका छन् । ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरिया बजारमा सोमबार आयोजित कार्यक्रमबाट माझीलाई अध्यक्षको उम्मेदवार घोषणा गरिएको हो । माझी केही समयअगाडि कांग्रेस छोडेर माओवादीमा प्रवेश गरेका थिए । उनी यसअघि २०७४ सालमा ग्रामथान गाउँपालिका–१ को वडाध्यक्ष निर्वाचित भएका थिए । तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचिन भएका उनी गत २०७९ सालको निर्वाचनमा स्वतन्त्र रूपमा सोही वडाको अध्यक्षमा उम्मेदवार बनेका थिए । तर, तेस्रो भए । कांग्रेस छाडेर माओवादी रोजेपछि अहिले गाउँपालिका अध्यक्षकै उम्मेदवार बन्ने मौका पाएका छन् । अर्कै पार्टीबाट आएकालाई टिकट दिएको भनेर माओवादीभित्र असन्तुष्टि बढेको छ । लामो समयदेखि पार्टीमा बसेर योगदान गर्ने तथा संगठन निर्माणमा अहोरात्र खटिनेहरु भने अवसरबाट बञ्चित भएका छन् । माझीको उम्मेदवारी घोषणा कार्यक्रममा माओवादीका नेताहरू सावित्रीकुमार काफ्ले, पूर्वमन्त्री अमनलाल मोदी, विजय विश्वासलगायतको उपस्थिति थियो । आगामी मंसिर १६ गतेका लागि उपनिर्वाचन घोषणा गरिएको छ । उक्त निर्वाचनका लागि कांग्रेस र एमालेले भने उम्मेदवारको टुंगो लगाइसकेका छैनन् । स्थानीय तहको २०७९ सालमा सम्पन्न निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार ग्रामथान गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । हृदयघातका कारण उनकोमृत्युु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार