विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) नारायणप्रसाद चिमरियाले कानुनभन्दा बाहिर गएर काम नगर्ने प्रतिबद्धता जनाएका छन् ।
आफू भर्खरै मोरङ आएको भन्दै उनले कुनै नयाँ योजना नरहेको र प्रचालित कानुनअनुसार काम गर्ने बताए । मोरङमा हाजिर भएको पर्सिपल्ट अर्थात बुधबार उनले जिल्ला प्रहरी कार्यालयमा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेका छन् ।
उक्त कार्यक्रममा एसपी चिमरियाले भने, ‘मेरो नयाँ केही योजना छैन । प्रचालित कानुनअनुसार काम गर्छु ।’ शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा विभागीय एवं संगठनको नीतिभन्दा बाहिर गएर काम नगर्ने उनले बताएका छन् ।
‘समस्याको पहिचान गर्दै त्यहीअनुसारको योजना बनाएर काम गरिने छ,’ उनले भने, ‘पीडित र नागरिकमैत्री सेवा प्रवाहमा जोड दिइने छ ।’ उनले आफ्नो कार्यकालमा विवादरहित भएर काम गर्ने बताए । मोरङमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा देखिने समस्याहरु केलाउने काम आफूले गरिरहेको उनले बताए ।
‘यहाँ ठाउँअनुसारका धेरै समस्याहरु छन् । तिनका बारेमा सबै पक्षबाट जानकारी लिने काम गरिरहेको छु,’ चिमरिया भन्छन्, ‘समस्याको समाधान गर्ने गरी योजना बनाएर अघि बढ्छु । यसमा सबैको साथ र सहयोग आवश्यक छ ।’
चिमरिया सोमबार दिउँसो मोरङ हाजिर भएका हुन् । हाजिर भएकै दिन विभिन्न युनिटका इन्चार्जहरुलाई बोलाएर निर्देशन दिँदै शान्ति सुरक्षादेखि लिएर जिल्लाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका थिए ।
नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीमा कार्यरत चिमरियालाई नेपाली कांग्रेसका नेताहरुको जोडबलमा प्रहरी प्रधान कार्यालयले मोरङ पठाएको हो ।
यसअघिका मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई प्रहरी प्रधान कार्यालय झिकाएर उनका ठाउँमा एसपी राजन लिम्बूलाई पठाउने निर्णय भएको थियो । तर, मोरङ हाजिर हुन नपाउँदै लिम्बूको काज रद्ध गरेर चिमरियालाई पठाइयो ।
चिमरियाले आयोजना गरेको परिचयात्मक कार्यक्रममा उपस्थित पत्रकारहरुले नेपाल–भारत सीमा क्षेत्रबाट हुने तस्करी, लागुऔषधको ओसारपसार एवं कारोबार, ट्राफिक व्यवस्थापन, क्यासिनोमा नेपालीको प्रवेशलगायत विभिन्न अवैध धन्दाका बारेमा कुरा उठाएका थिए ।
पत्रकारहरुले उठाएका विषयलाई भने उनले आफ्नो ‘डायरी’मा टिपेर राखेका छन् । उनले धेरै समस्याको जानकारी भएकाले सबैको समाधान क्रमस गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया