‘अर्थतन्त्रमा जोखिम कायम छ’

मंगलबार, ३० फागुन २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकको रिपोर्टले विदेशी मुद्रा सञ्चिती, रेमिट्यान्स र सोधनान्तर स्थिति जस्ता बाह्य सूचकमा सुधार भएको देखाए पनि अर्थतन्त्रको जोखिम भने कायमै रहेको विज्ञहरुले दाबी गरेका छन् । कर्जा विस्तारमा सुस्तता र उपभोक्ताको क्रयशक्तिमा ह्रास र राजस्व संकलनमा आएको कमीका कारण अर्थतन्त्र अझै संकटमा रहेको उनीहरुको भनाइ छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको माघ मसान्तसम्मको आर्थिक तथा वित्तीय रिपोर्टले अर्थतन्त्रका बाह्य सूचकमा सुधार भएको देखायो । विदेशमा रोजगारी र अध्ययनका लागि जानेको संख्या ह्‍वात्तै बढेको र उनीहरूले पठाउने रेमिट्यान्स बढेकाले विदेशी मुद्रा सञ्चितीमा सुधार आएको छ । अर्थतन्त्रका सूचकमा सुधारको रिपोर्ट सार्वजनिक भएको भोलिपल्टै व्यवसायीहरुले राष्ट्र बैंकअगाडि धर्ना दिए । चर्को ब्याजदरका कारण आफूहरू टाट पल्टन लागेकाले राष्ट्र बैंककै नीति परिवर्तन गर्नुपर्ने उनीहरूको माग छ । बैंकको कर्जा विस्तारमा आएको सुस्तता तथा उपभोक्ताको क्रय शक्ति ह्रासले मुलुक अझै संकटमै रहेको विज्ञ बताउँछन् । गत वर्षको माघ मसान्तमा कर्जाको औसत ब्याजदर १० दशमलव तीन एक प्रतिशत रहेकामा यो वर्षको सोही अवधिमा १३ दशमलव शून्य तीन प्रतिशत पुगेको छ । ब्याजको निरन्तर वृद्धि, तर खस्केको आम्दानीका कारण किस्ता र ब्याज तिर्न नसक्दा कालोसूचीमा पर्नेहरु यसवर्ष १५ हजार थपिएका छन् । ऋण लिएर व्यवसाय गर्ने घटेका छन् । गत वर्ष ९ दशमलव ४ प्रतिशतले कर्जा बढेकामा यो वर्ष जम्मा ३ दशमलव नौ प्रतिशतमा सीमित भएको छ । यसले रोजगारीसँगै उत्पादन प्रभावित भएको छ । राजस्वले कर्मचारीको तलब भत्तालगायत चालु खर्च नै धान्न नसक्ने स्थिति भएपछि सरकारले ढुकुटीबाट असारयता २७ अर्ब निकालिसकेको छ । केन्द्र सरकारको खाता ६७ अर्बले घाटामा छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार