इलाम : नेकपा (एमाले) इलामको जिल्ला अधिवेशन नजिकिएसँगै नेताहरू प्रतिनिधि छनौटमा जुटेका छन् । इलाममा जिल्ला अधिवेशनका लागि पाँच सय ८३ प्रतिनिधि छनौट भएका छन् ।
इलामको ११ औं जिल्ला अधिवेशन कात्तिक २९ र ३० मा हुँदैछ ।
जिल्लाका ८१ वटै वडा, २१ जनसंगठन तथा पेसागत संगठन, तीन इलाका, शाखा र एउटा विशेष वडा कमिटिबाट प्रतिनिधि छानिएको एमाले जिल्ला सचिव उमेश गुरुङले जानकारी दिए ।
धेरैजसो वडा र कमिटीहरूमा सर्वसम्मत् रूपमा प्रतिनिधि छानिएपनि कतिपयमा निर्वाचन प्रक्रियाबाटै छानिएको उनले जनाए ।
अरू जिल्लामा यसअघि नै एमालेको जिल्ला अधिवेशन भइसकेपनि गत वैशाख १५ मा इलाम क्षेत्र २ मा उपनिर्वाचन भएकाले जिल्ला अधिवेशन स्थगित भएको थियो । आउँदो अधिवेशनले जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव निर्वाचित गर्नेछ । सचिव गुरुङका अनुसार एक सय २५ सदस्यीय जिल्ला कमिटी गठन हुनेछ ।
जिल्ला नेतृत्वमा केही नेताहरूको नाम आइरहेपनि सर्वसम्मत् बनाउन प्रयास भइरहेको बताइएको छ ।
प्रतिक्रिया