काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रकम १५ दिनभित्र उद्योगीबाट असुल्ने बताएका छन् ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै घिसिङले सरकारबाट बक्यौता रकम १५ दिनभित्रै उठाउने निर्देशन प्राप्त भएपछि असुलको तयारी गरेको बताएका हुन् ।
‘हामीले कार्तिक ८ गते उद्योगमा लाइन काटेका थियौं, त्यसपछि नेपाल सरकारले भर्खरै १५ दिनभित्र बक्यौता उठाउने गरी हाललाई २४ घण्टाभित्र तत्काल लाइन जोड्ने भनेर निर्देशन प्राप्त भएको छ,’ उनले भने ।
सरकारबाट लाइन जोड्न निर्देशन प्राप्त भएपछि लाइन काटेका उद्योगमा प्राधिकरणले भटाभट लाइन जडान गर्न थालिसकेको छ । प्राधिकरण डेडिकेटेड फिडर तथा ट्रंकलाइनको १५ दिनभित्र विद्युत् बक्यौता उठाउने तयारीमा लागि सकेको घिसिङको भनाइ छ ।
‘उद्योगीहरूले १५ दिनभित्र नेपाल सरकारको निर्देशन बमोजिम बक्यौता बुझाउनु पर्नेछ, हामीले यो भन्दा अगाडि २८ किस्ता गरेर बक्यौता तिर्न सक्ने व्यवस्था मिलाएका थियौं । एक किस्ता मात्र जम्मा गर्याे भने मात्र लाइन जोड्दै आएका थियौं, अहिलेसम्म बक्यौता बुझाउने करिव १४ वटा उद्योगको त्यसरी लाइन जोडिसकेका छौं,’ उनले भने ।
प्राधिकरणको बिल अनुसार १५ दिनभित्र रकम नबुझाए कारबाही सहित लाइन काटिने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । लामो समयदेखि चर्किएको यो विवादले निचोड भने लिन सकेको थिएन । सरकारले नै बक्यौता असुल्ने निर्देशन दिएपछि बक्यौता रकम छिट्टै नै उठी यो विवाद टुङ्गिने देखिन्छ ।
प्राधिकरण बक्यौता रकम जसरी भएपनि असुल गर्ने, तर उद्योगीहरू नतिर्ने मनसायमा देखिदा डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद सुल्झाउन हम्मेहम्मे परेको हो ।
बक्यौता तिर्न बाँकी ६१ वटा उद्योगलाई पटकपटक पत्र पठाए पनि अहिलेसम्म कुनै उद्योगी डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रकम बुझाउन नआएको प्राधिकरणले बताउँदै आएको थियो ।
यद्यपि ४९ वटा उद्योगले किस्तामा रकम बुझाउनको लागि सुरु गरिसकेको पनि कार्यकारी निर्देशक घिसिङले बताए । उद्योगीसँग प्राधिकरणको यो लफडा धेरै समय अघिदेखि भएपनि अहिलेसम्म यसको निचोड ननिस्कँदा यो विवादले चर्चा पाउँदै आएको थियो ।
प्रतिक्रिया