विराटनगर । मोरङको ग्रामथानमा आगामी उपनिर्वाचनका लागि शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरियामा रहने गरी कार्यालय स्थापना गरिएको हो । कार्यालयको जिल्ला अदालत मोरङका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले उद्घाटन गरेका छन् । भट्टराईले कार्यालय स्थापना गरेलगत्तै सर्वदलीय छलफल राखेका थिए ।
निर्वाचनमा भाग लिने सबै राजनीतिक दल उपस्थित छलफलमा आगामी निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित रूपमा सम्पन्न गराउने वातावरण तयार पार्न उनले आग्रह गरेका छन् । शान्तिपूर्ण हिसाबले निर्वाचन सम्पन्न गर्न दलहरुको भूमिका महत्वपूर्ण भट्टराईले बताए ।
छलफलमा विभिन्न दलका नेताहरु उपस्थित थिए । उनीहरुले निर्वाचनलाई भयरहित हिसाबले सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको भए पनि निर्वाचन कार्यक्रम भने आगामी मंसिर २ गतेबाट सुरु हुने छ ।
निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवारको मनोनयन गर्ने समय तोकेको छ । उम्मेदवारी दर्ता बिहान १० बजेबाट सुरु हुने बताइएको छ । निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ताका लागि राजनीतिक दलहरूलाई समय दिने छ । कुन दलले कुन समयमा उम्मेदवारी दर्ता गर्ने भनेर समय दिइने भएको हो ।
निर्वाचन आचारसंहिता, मनोनयन दर्ताका लागि आवश्यक जानकारी कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले दिएका छन् । ग्रामथाना ७ वटा वडा छन् । उपनिर्वाचनका लागि २६ हजार ४४ जना मतदाता रहेको आयोगले जनाएको छ ।
यसअघि २०७९ को स्थानीय तह निर्वाचनबाट ग्रामथानको अध्यक्षमा निर्वाचित जयप्रकाश गच्छदार निर्वाचन भएका थिए । गत असार ३ गते उनको निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
आगामी मंसिर १६ गते मुलुकभर ४४ पदका लागि स्थानीय तहको उपनिर्वाचन हुँदै छ । उपनिर्वाचन हुने स्थानहरुमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका थियो ।
प्रतिक्रिया