मोरङ : मोरङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको पथरीशनिश्चरे १ बजारमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
आइतबार (आज)बिहान ११ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ४१६३ नम्बरको बसले पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १-०२-०५५ प ७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा ६ का २४ वर्षीय रमेश खड्काको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका खड्कालाई तत्काल उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार चौदण्डीगढी नगरपालिका २ की २४ वर्षीया कृष्णकुमारी खड्का घाइते भएकी छन् । उनको न्यूरोमै उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया