मोरङको ग्रामथान गाउँपालिकामा एमालेविरुद्ध पर्यो बागी उम्मेद्वारी

आइतबार, ०२ मंसिर २०८१
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि एमालेविरुद्ध बागी उम्मेद्वारी परेको छ । एमालेका तुलसीराम विश्वास विरुद्ध एमालेकै नमनारायण चौधरीले स्वतन्त्र उम्मेद्वारी दिएका हुन्  । ग्रामथानको अध्यक्षमा एमालेबाट चौधरीसहित ११ जना आकांक्षी थिए । पार्टीले तुलसीराम विश्वासलाई टिकट दिएपछि असन्तुष्ट बनेका उनले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । गाउँपालिकाको अध्यक्षका लागि अहिलेसम्म १४ जनाको उम्मेदवारी परेको छ । यो समाचार तयार पार्दासम्म विभिन्न दलबाट १३ र स्वतन्त्रबाट १ जनाको उम्मेद्वारी परेको हो । अझै पनि मनोनयन दर्ता गर्ने समय बाँकी छ । केही उम्मेदवार मनोनयन दर्ता गराउन लाइनमा बसिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनोनयन दर्ताका लागि आइतबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । उम्मेद्वारी दर्ता गराउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वास, नेकपा (एमाले) बाट तुलसीराम विश्वास, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट धर्मेन्द्रकुमार चौधरीको उम्मेद्वारी परेको छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, नेपाली कांग्रेसबाट बलराम सरदार, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले मनोनयन दर्ता गराएका छन् । २०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार