पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस ‘कलेज अफ ल’द्वारा विद्यार्थीहरूलाई अभिमुखीकरण

आइतबार, ०२ मंसिर २०८१
विराटनगर : पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ ल ले बिए एलएलबीका विद्यार्थीहरूलाई अभिमुखीकरण गरेको छ । कलेजले आइतवार एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक विद्यार्थीहरूलाई अभिमुखीकरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि विज्ञान तथा प्रविधि संकायका डीन प्रा. डा. पवन कुमार झाले कानूनमा राम्रो भविष्य भएको भन्दै राम्रो अध्ययन गरेर उत्कृष्ट नतिजा ल्याउन आग्रह गरे । कार्यपालिका र व्यवस्थापिकाले बाटो बिराए त्यसलाई सही मार्गमा ल्याउने काम न्याय क्षेत्रले गर्ने गरेको दृष्टान्त दिँदै प्रा. डा. झाले कानूनको क्षेत्र र भविष्यका विषयमा प्रष्ट्याए । कानूनका विद्यार्थीहरूको पहिलो रोजाइ पूर्वाञ्चल विश्वविद्यालयको भएको बताउँदै कलेज अफ लका डाइरेक्टर महेशप्रसाद निरौलाले कलेज अफ लमा वीरगञ्जदेखिका विद्यार्थी अध्ययनका लागि आएको बताए । कानून व्यवसायी सोसल इन्जिनियर भएको बताउँदै डाइरेक्टर निरौलाले समाज परिवर्तमा कानूनका विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहेको जनाए । एलएलएम कार्यक्रमका संयोजक दीपक खतिवडाले बिए एलएलबीको पाठ्यक्रम, त्यसले समेटेको विषय र क्षेत्रका विषयमा विद्यार्थीहरूलाई अभिमुखीकरण गराएका थिए । बिए एलएलबी कार्यक्रमकी संयोजक नीता प्याकुरेल, उपप्राध्यापक दीपेश बास्तोला, प्रशासन प्रमुख राजकुमार बास्तोला लगायतले विद्यार्थीहरूलाई स्वागत गर्दै विद्यार्थीहरूलाई अभिमुखीकरण गरेका थिए । डीन कार्यालयले छनौट गरी पठाएका १२ जना विद्यार्थी पूर्ण छात्रवृत्तिका विद्यार्थी भर्ना भएका एक सय आठ जना गरी बीए एलएलबीमा एक सय २० जना विद्यार्थी भर्ना भएका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार