कात्तिके पूर्णिमा फुटबलको उपाधि नुमाफुङ र सुकेपोखरीलाई

सोमबार, ०३ मंसिर २०८१
पाँचथर : बराहक्षेत्र कात्तिके पूर्णिमा मेलाको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. २, इम्बूङमा आयोजित खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधि नुमाफुङ युथ क्लव सिवाले हात पारेको छ । सोमबार सम्पन्न फाइनल खेलमा नाम्तोक क्लव फाक्तेपलाई ट्राइबेकरमा ४ का विरुद्ध ५ गोलले पराजित गर्दै नुमाफुङ युथ क्लवले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि ट्राइबेकर मार्फत नतिजा निकालिएको थियो । प्रतियोगितामा विजेता बनेको नुमाफुङ युथ क्लवले नगद एक लाख १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको नाम्तोक क्लवले ७० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । यसैगरी महिलातर्फको नकआउट फुटबल प्रतियोगितामा एस.एस.एफ.सी सुकेपोखरीले पहिलो स्थान सुरक्षित गरेको छ । फाइनलमा फेमेसुवा लुम्फाबुङलाई शून्यका विरुद्ध २ गोलले पराजित गद सुकेपोखरीले उपाधि हात पारेको हो । महिलातर्फको विजेताले १० हजार र उपविजेताले पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सोही अवसरमा कर्ण शान्ति प्रतिष्ठानको मुख्य प्रायोजन तथा टु स्टार ग्रामीण सिर्जनशील क्लवको आयोजनामा प्रथम पुरुष बी लेबल खुल्ला ब्याडमिन्टन प्रतियोगितासमेत आयोजना गरिएको छ । ब्याडमिन्टन प्रतियोगितामा राम धमला र उत्तम राईको टिम प्रथम तथा साहिल राई र पाङवीर नेम्वाङको टिम द्धितीय भएका छन् । प्रतियोगितामा पहिलो भएको टिमले नगद १० हजार, द्वितीयले ७ हजार र तृतीयले २ हजार ५ सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगिता फाल्गुनन्द २ स्थित सत्यहाङ्मा माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको थियो । कात्तिके पूर्णिमाको अवसरमा बराहक्षेत्र कात्तिके पूर्णिमा मेलासँगै स्थानीय टु स्टार ग्रामीण सिर्जनशील क्लबको आयोजनामा फुटबल, ब्याडमिन्टन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार