चीन निर्यात हुन थाल्यो नेपाली चिया

मंगलबार, ०४ मंसिर २०८१
विराटनगर : युरोप र अमेरिकी मुलुकमा नेपाली अर्थोडक्स चिया चखाइरहेको इलामको गोर्खा टी इस्टेटले पहिलो पटक छिमेकी देश चीनमा चिया निर्यात थालेको छ । चियाको सबैभन्दा ठुलो बजार रहेको चीनमा निर्यात सुरु भएपछि पूर्वका चिया उद्यमी हौसिएका छन् । यसअघि चिनियाँ व्यवसायीले व्यक्तिगत रूपमा किनेर लैजाने गरेका थिए । तर गोर्खा टी इस्टेटले औपचारिक रूपमा निर्यात गरेको पहिलो पटक हो । मेची भन्सार कार्यालयका अनुसार आइतबार पूर्वी नाकाबाट कोलकाता हुँदै करिब ७० लाख मूल्यको ६ हजार ३ सय ६२ किलो चिया चीन निर्यात भएको हो । चीनको स्प्रिङ टी लिमिटेडले चिया किनेको हो । पछिल्लो समय चीनले नेपाली चियाप्रति चासो देखाउँदै आएको गोर्खा टी इस्टेटका संस्थापक उदय चापागाईँले बताए । गुणस्तरीय नेपाली चियाका लागि चीन राम्रो बजार भएकाले सो देशमा समेत चिया पठाउन थालिएको बताइएको छ । चिया चीन निर्यात गर्न चापागाईँले तीन वर्षदेखि निरन्तर प्रयास गरिरहेको बताए । प्रयोगशालामा परीक्षण लगायत सबै प्रक्रिया पूरा गरेर चिया पठाइएको उनले बताए । नारायण खड्का परराष्ट्र मन्त्री भएका बखत नेपाली चिया किन्न चीनले तत्परता देखाएको थियो । नेपालले डेढदेखि दुई करोड किलोग्राम सीटीसी र करिब ६५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन गर्दै आएको चिया तथा कफी विकास बोर्डको तथ्याङ्क छ । ९० प्रतिशतभन्दा बढी सीटीसी र ८० प्रतिशत हाराहारीको अर्थोडक्स चिया भारत निकासी हुँदै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार