मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँ : स्वास्थ्यमन्त्री पौडेल

मंगलबार, ११ मंसिर २०८१
सर्लाही : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सर्लाहीको ईश्वरपुरमा मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज (मंगलबार) ईश्वरपुर नगरपालिका–९ मा निर्माण भएको भरतपुर आँखा उपचार केन्द्रको उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् । ‘मृगौला रोगको उपचारका लागि डाइलासिस सेन्टर बनाउनुपर्छ भन्ने सुने । त्यसका लागि आवश्यक उपकरणको व्यवस्था र विपन्न उपचारको सूचिमा सूचीकृत गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु”, मन्त्री पौडेलले भने । उनले भौतिक पूर्वाधारको व्यवस्थापन भइसकेपछि डाइलासिसका लागि आवश्यक तीन सेट मेसिन उपलब्ध गराउनबारे आफू सकारात्मक रहेको बताए । “यसका साथै राज्यले एक जनालाई डाइलासिस गरेको २५ सय रुपैयाँ दिने व्यवस्था छ । कुन कुन केन्द्रमा उपचार हुन्छ भनेर सूचिभित्र पार्नुपर्छ । त्यसका लागि पनि पहल गर्छु । यहाँहरूले पालिकाबाट गर्ने काम गर्नुस्”, उनले भने । यसैगरी यस क्षेत्रका लागि आवश्यक रक्त सङ्कलन केन्द्र सञ्चालनका लागि कुनै संस्थासँग समन्वय गर्ने र त्यसो हुन नसके मन्त्रालयसँगको सहकार्यमा सो केन्द्र सञ्चालन गर्न सकिने मन्त्री पौडेलको भनाइ थियो । उनले पाठेघरको समस्या समाधानका लागि रोग लाग्नै नदिने गरी सचेत हुनुपर्ने र लागिहालेमा सहज उपचारका लागि सरकारले सहयोग गर्ने बताए । मन्त्री पौडेलले हाल सञ्चालनमा रहेको रु एक लाखको स्वास्थ्य बिमा कार्यक्रम व्यवस्थित नरहेकाले यसलाई रु पाँच लाख पुर्‍याउने तयारी भएको जानकारी दिए ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार