झापाको हल्दिबारीमा गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा

शुक्रबार, १४ मंसिर २०८१
झापा :  हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेको हो । यसबाट विपन्न महिलालाई सहयोग पुगेको छ । गाउँपालिकाले सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत आठपटक नियमित गर्भजाँच गराउने महिलालाई प्रोत्साहनस्वरुप दुई हजार प्रदान गर्दै आएको छ । पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनका साथै पालिका बाहिर जानुपरेमा ५० प्रतिशत छुटका व्यवस्था भएको छभने निःशुल्क प्रयोगशाला सुविधा दिँदै आएको छ । गत आर्थिक वर्षमा सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत रु चार लाख २९ हजार खर्च भएको छ । साथै गाउँपालिकाले विपन्न नागरिकको उपचारमा सहयोग गर्ने उद्देश्यले जनता उपचार कोष स्थापना गरेको छ । गत आवमा उक्त कोषबाट पाँच लाख २८ हजार सहायता प्रदान गरिएको थियो । चालु आवमा हालसम्म कोषमार्फत रु एक लाख पाँच सय आर्थिक सहयोग परिचालन अध्यक्ष रवीन्द्र लिङ्देन बताए ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार