काठमाडौं । नेपालले विहारको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गरिने भएको छ । नेपाल–भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकमा मोडालिटिी तय गर्नेबारे सहमति गरिएको हो ।
भारतको राजधानी नयाँ दिल्लीमा भएको समितिको १४औँ बैठकले विहारको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत् प्राधिकरणका विद्युत् प्रणाली सदस्य अशोककुमार राजपुतको सहअध्यक्षतामा बैठक बसेको थियो ।
नेपालले विहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात हुने छ र यसका लागि एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुङ्गो लगाउने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताएका छन् ।
विहारसँग कटैया विहार–कुशाहा नेपाल र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन जोडिएका छन् ।
एक महिनाअघि भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौँ बैठकले कटैया–कुशवा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट क्रमशः मार्च २०२३ भित्र र अप्रिल÷मे २०२३ मा निर्माण सम्पन्न गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया