काठमाडौँ : पालिकाका रिक्त विभिन्न ४१ पदका लागि हिजो भएको उपनिर्वाचनको अहिलेसम्म ३४ वटा पदको नतिजा सार्वजनिक भएको छ । दुई अध्यक्ष, एक उपमेयर, एक उपाध्यक्ष र ३० वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो ।
गाउँपालिकाका दुई अध्यक्षमध्ये दैलेखको महाबु गाउँपालिकामा एमालेका जङ्गबहादुर शाही र मोरङको ग्रामथानमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् । यसअघि २०७९ को चुनावमा दुवै गाउँपालिकाको अध्यक्ष काँग्रेसले जितेको थियो ।
यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएका छन् । यसअघि यहाँ काँग्रेस विजयी भएको थियो । यसअघि काँग्रेसले नै जितेको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेपाल एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी भएका छन् ।
नतिजा सार्वजनिक भएका ३० वडाध्यक्षमध्ये काँग्रेसले १५, एमालेले ५, माओवादी केन्द्रले ४, जसपा नेपालले २, रास्वपाले १, एकीकृत समाजवादीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले १ ठाउँमा जितेका छन् । अब एक मेयर, तीन उपाध्यक्ष र तीन वडाध्यक्षको नतिजा सार्वजनिक हुन बाँकी छ ।
कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । हुम्लाको सर्केगाड र रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा भएको चुनावको मतगणना सुरु हुँदैछ । उपाध्यक्षकै लागि चुनाव भएको अर्को ठाउँ दोलखाको गौरीशङ्कर गाउँपालिकामा दिउँसो मात्रै मतगणना गर्ने तयारी छ ।
प्रतिक्रिया