बिमाका लागि ०८२ सालमा ४० अर्ब विनियोजन गर्न मुस्किल छ : मन्त्री पौडेल

आइतबार, ०३ चैत्र २०८१
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बीमाको स्वरूपको विकल्प खोज्न आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित स्वास्थ्य बिमा प्रतिवेदन र कार्य योजनाको सार्वजनिक करण कार्यक्रममा उनले बीमाको निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ विनियोजन भएको र यही स्वरूपको बिमा व्यवस्थित गर्न ०८२ सालमा ४० अर्ब हुने  देखिएको भन्दै उनले सरकारको क्षमताभन्दा बाहिर रहेकोले बीमाको स्वरूपको विकल्प आवश्यक रहेको बताए । उनले भने,‘कसको दोष हो म त्यतातिर जान चाहन्न । समस्या के छ भने बिमाका निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ विनियोजन भएको स्थिति छ । बीमाको अनुमानित खर्च ०८२ मा करिब ४० अर्ब हुने देखिन्छ । आगामी कार्यक्रममा सरकारले ४० अर्ब विनियोजन गर्‍यो भने मात्रै यही स्वरूपको बिमा व्यवस्थित हुन सक्छ । ४० अर्ब विनियोजन गर्ने र त्यसपछि आवश्यकता अनुसार बढाउँदै गए राज्यको क्षमता अनुसार सम्भव हुन्छ जस्तो मलाई लाग्दैन । त्यसैले बीमाको होइन यसको स्वरूपमा विकल्पलाई अगाडि ल्याएका हौँ ।’ उनले बिमा अहिले जीवनको अभिन्न अङ्ग बनेकाले यसको विकल्प नभई थप व्यवस्थित गर्न खोजिएको बताए । आम नागरिकलाई बढी भन्दा बढी कसरी बीमाबाट सेवा उपलब्ध गराउन सकिन्छ भन्नेबारे आफूहरू लागेको उनको भनाई छ । उनले भने,‘बिमा अहिले हाम्रो जीवनको अभिन्न अङ्ग बनेको छ । यसको विकल्प खोजेको होइन । यसलाई व्यवस्थित गर्न खोजेको हो । यसलाई निरन्तरता दिन खोजेको हो । यसबाट आम नागरिकलाई बढी भन्दा बढी कसरी सेवा उपलब्ध गराउन सकिन्छ त्यसबारे काम गर्न खोजेको हो ।’ स्वास्थ्य बिमालाई अझ प्रभावकारी बनाउन के कस्ता नीतिगत र व्यवहारिक सुधार आवश्यक छन् भन्ने विषयहरूमा समाधान खोज्ने पनि उनले जानकारी दिए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार