जेसीज महाधिवेशन: राष्ट्रिय अध्यक्षका ‘एजेन्डा’ के ?

सोमबार, ०८ पुस २०८१
इटहरी । मतदान अगाडि हुने ‘ककस’ कार्यक्रममा विजय गुरुङ सुनिल तिम्सिना, रश्मि शिल्पकार र नरेश चन्द्र ओझाले सहभागिता नजनाएपछि जेसीस निर्वाचन रोचक मोडमा पुगेको छ । सोमबार राखिएको ‘ककस’ कार्यक्रममा रजनी थापा र जीवन कार्कीको मात्रै सहभागिता भएपछि उनीहरू बिच नै आगामी वर्ष २०२५ को नेतृत्वका लागि प्रतिस्पर्धा हुने भएको हो । उम्मेदवार निर्वाचन जितेमा गर्ने कार्यका बारेमा मतदातालाई जानकारी गराउन जेसीजमा ककस कार्यक्रमको आयोजना हुने गर्दछ । जसले मतदातालाई नेतृत्वको योजना सुन्न र छान्नका लागि मद्दत पुग्ने विश्वास लिने गरिन्छ । नेपाल जेसीजको ५१ महाधिवेशन इटहरीमा भइरहँदा आगामी वर्ष २०२५ को नेतृत्वका लागि उम्मेदवारी कायम भएका उम्मेदवार को कस्ता छन् त ? ‘ककस’मा प्रस्तुत भएका उम्मेदवारका योजना यस प्रकार छन् : रजनी थापा  थापाले आफूले निर्वाचन जितेमा जेसीजलाई ब्रान्ड बनाउने उद्घोष गरिन् । काठमाण्डौंको मनोहरा शाखाको अध्यक्ष समेत भइसकेकी रजनीले बुटवलमा भएको नेपाल जेसीजको ५० औँ महाधिवेशनमा अध्यक्ष पदमा पराजित हुन पुगेकी थिइन् । हारले नै मानिसलाई अगाडि बढाउन प्रेरित गर्ने उल्लेख गरेकी थापाले भनिन, ‘जेसीजमा हार भन्ने हुँदैन कि जित्ने हुन्छ, कि सिक्ने हुन्छ । अघिल्लो पटक मन दिनुभएका जेसीजकर्मीहरुले यो पटक मन र मत दिएर फस्ट गराइदिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’ थापाले उनले जेसीज पढौँ अभियान अन्तरगत विज्ञान, नर्सिङ तथा इन्जिनियरिङ विषयमा स्कलरसिपको व्यवस्था गर्ने बताइन । आफू तमाम दिदी बहिनीको आवाजको रूपमा प्रस्तुत भएको भन्दै समानता र सम्मानलाई केन्द्र भागमा राखेर कार्य गर्ने उनको तर्क छ । उनले भनिन, ‘जङ्गलमा बाघ मात्रै हैन, बघिनी पनि छ ।’ ‘मानवताको सेवालाई अक्षुण राख्दै आफ्नो सिङ्गो जीवन जेसीजमा सकारात्मक परिवर्तनको लागि समर्पित गर्ने उद्देश्यले म चुनावी अभियानमा होमिएकी हुँ,’ उनले भनिन् । जीवन कार्की  २०२५ का लागि नेपाल जेसीज राष्ट्रिय अध्यक्षको उम्मेदवार रहेका कार्कीले आफू व्यवस्थापनको विद्यार्थी पनि भएकाले वर्ष २०२५ लाई ‘फाईनान्सीयल म्यानेजमेन्ट एयर’ का रूपमा लाने दाबी गरे । नेपाल जेसीजको सम्पत्ति संरक्षण सचिवालयको उचित व्यवस्थापन र नयाँ भवन निर्माणको कार्य प्रारम्भ आफूले निर्वाचन जितेमा गर्ने कार्कीले बताए । जेसिजमा लाग्नेले उद्यमशीलतामा लाग्नुपर्ने कुरालाई जोड दिएका कार्कीले आफूले सरकारी संस्थाहरूसँग समेत सहकार्य गरेर अगाडि बढ्ने दाबी गरे । उनले जेसिजमा इमानदारिता र अनुशासन जरुरी रहेको बताएका कार्कीले विधिको शासनको सिद्धान्तअनुसार काम गर्ने उल्लेख गरे । जेसीजमा सक्रिय भएर लागेका कार्की रामेछाप जेसिज वर्ष २०२१ को शाखा अध्यक्ष भएका थिए । उनी २०२२ को राष्ट्रिय उपाध्यक्ष हुँदै २०२३ कार्यकारिणी उपाध्यक्ष भइसकेका छन् । खास गरी इटहरीस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा जारी महाधिवेशनमा आगामी वर्ष २०२५ को नेतृत्व लगायतका कार्यसमितिका लागि निर्वाचन हुन लागेको हो । जसका लागि केही बेरमा हुने निर्वाचनले नयाँ कार्यसमिति चयन गर्ने छ । गत शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको महाधिवेशन नयाँ कार्यसमिति चयन गरेर आजै समापन हुने तालिका छ । महाधिवेशनलाई  कोशी प्रदेश सरकारले अभिभावकत्व ग्रहण गर्दा इटहरी उपमहानगरपालिकाले संरक्षण गरेको छ ।

यो पनि-नेपाल जेसीजको अध्यक्षकी उम्मेदवार रजनी थापा को हुन् ?

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार