इटहरी आएर राप्रपा अध्यक्ष लिङ्देनले भने, रविको सँगै मेरो पनि सम्पत्ति छानबिन गर्नुहोस्

शनिबार, १३ पुस २०८१
इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारविरुद्धको अभियानका लागि सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । राप्रपा कोशी प्रदेश समितिले सुनसरीको इटहरीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । वर्तमान सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति छानबिन सुरु गरेको र यसैलाई निरन्तरता दिँदै आफ्नो लगायत सबै पार्टीका नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने अध्यक्ष लिङ्देनले बताए । सम्पत्ति छानबिनका लागि कुनै पनि आयोग बनाउनु नपर्ने समेत उनले बताए । 'वर्तमान सरकारले सम्पत्ति शुद्धीकरणको हतियार दापबाट निकालेर एउटा राजनीतिक दलको सभापतिलाई चलाइसकेको छ अब चलाउन सक्नुहुन्छ भने राजेन्द्र लिङ्देन माथि पनि चलाउनुस् । मेरो पनि सम्पत्ति छानबिन हुनुपर्छ। राप्रपाको अध्यक्षलाई पनि छानबिन हुनुपर्छ। तर तपाईँ शेरबहादुर देउवा तपाईँ केपी ओली तपाईँ प्रचण्डको पनि छानबिन हुनुपर्छ ।' अध्यक्ष लिङ्देनले भने । 'क-कसको स्रोत के हो ? अहिलेको सम्पत्तिको स्रोत के हो ? त्यो छानबिन हुनुपर्‍यो, सम्पत्ति शुद्धीकरणको तरबार निस्किसक्यो अब दापमा नराख्नुस्, चलाउनुहोस् । म केपी ओलीलाई भन्न चाहन्छु त्यो एउटा रवि लामिछानेलाई मात्रै चलाएर त्यसले पूर्ण हुँदैन । अब हामीतिर चलाउनुस्, आफूतिर चलाउनुस्।' सबै नेताका सम्पत्तिका स्रोत के के हुन् भन्ने कुरा प्रस्ट पार्नु पर्ने समेत उनले बताए । उनले वर्तमान सरकार र नेताहरूले देशको विकास गर्न नसक्ने दाबी समेत गरे । राप्रपा कोशी प्रदेश कार्य समितिले इटहरीमा गरेको बृहत् विरोध सभा कार्यक्रममा बोल्दै अन्य नेताहरूले समेत काङ्ग्रेस एमाले र माओवादीले देशको विकास गर्न नसक्ने बताए । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा अहिले सरकारले कुनै पनि हालतमा विकास गर्न नसक्ने बताए । 'म ठोकुवाका साथ भन्छु अहिलेको सरकारले नेपालीका टाउकामा ऋण थप्ने बाहेक अन्य काम गर्न सक्दैन ।' उनले भने । 'देशलाई विकास गर्ने हो भने कृषि क्रान्ति गर्नु पर्छ । कृषि क्रान्ति गरे मात्र देशमा १० लाख युवाहरू रोजगार बन्न सक्छन् ।' देशका अधिकांश नेताहरू भ्रष्टाचारमा लिप्त भएको अवस्थामा अहिलेको व्यवस्थाले देश परिवर्तन नगर्ने भएकाले प्रत्यक्ष कार्यकारीको व्यवस्था हुनुपर्ने उनले बताए । यस्तै कार्यक्रममा बोल्दै पूर्व भूमि सुधार मन्त्री रामकुमार सुब्बाले राप्रपाले गौतम बुद्ध, महात्मा गान्धीले गरेको जस्तो कसैलाई हानी नगर्ने गरी विद्रोह गर्न सुरु गरेको बताए । अब देशमा भएका राजनैतिक विकृतिहरू हटाउन राप्रपाले सुरु गरिसकेको समेत उनले बताए । यस्तै राप्रपाका महामन्त्री प्रलाहद शाहले पूर्व इटहरीबाट सुरु भएको भ्रष्टाचार विरोधी आन्दोलन पश्चिम सम्म पुगेर टुङ्गिने बताए । यस्तै अर्का नेता डा.प्रकाश चन्द्र लोहोनिले देशका वर्तमान मन्त्रीहरूले अहिले सम्म सम्पत्ति विवरण सार्वजनिक नगरेको बताएका छन् । 'देशको कानुन अनुसार सम्पत्ति विवरण त सार्वजनिक गर्नुपर्छ नि त्यो पनि अहिले सम्म भएको छैन' उनले भने । देशमा अहिले लथालिङ्ग देशको भताभुङ्ग चाला जसले सक्छ उसले खालको स्थिति रहेको र भताभुङ्ग देशलाई सुधार्न राप्रपालाई नेतृत्वमा पुर्‍याउन उनले आग्रह समेत गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार