सुरु भयो चियाको पहिलो टिपाई

विहीबार, ०९ चैत्र २०७९
इलाम । सिजनको पहिलो हरियो चिया पत्तीको टिपाई सुरु भएको छ । कात्तिकदेखि बन्द भएको चिया टिपाइ चैत लागेसँगै सुरु भएको हो । यतिबेला चियाका बुट्टामा नयाँ मुना पलाएका छन् । सिजनको सुरुवातका मुना गुणस्तरीय मानिन्छ । चियाको पहिलो टिपाईबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । यसबेला किसानले हरियो पत्तीको मूल्यसमेत बढी पाउने गरेका छन् । यस सिजनको चियामा पानीको मात्रा कम हुने गरेकाले पनि यसलाई राम्रो चियाको रुपमा लिने गरिन्छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाई सुरु भएपनि माथिल्लो र उच्च क्षेत्रमा भर्खर मुना बस्न सुरु भएको छ । इलाममा हरियो पत्तीको टिपाई ‘फस्ट प्लग’ चैत लागेसँगै सुरु हुन्छ । चिया उत्पादन सुरु भएसँगै चिया किसानहरु काममा ब्यस्त हुने गर्दछन् । साथै यहाँका चिया कारखानाहरुले समेत प्रशोधन थालेका छन् । केहीले प्रशोधनको तयारी गरिरहेका छन् । इलाम नगरपालिका १ का टंक दाहालले प्रशोधन समेत थालेको बताए । उनी लगायत जिल्लाको तल्लो क्षेत्रका किसानले चिया टिप्न थालेका छन् । प्रायः पहिलो टिपाईको चिया घरमा नै खान राखिने समेत गरिएको छ । धेरै उत्पादन भएमा मात्र बेच्ने गरिन्छ । इलाम लगायत पूर्वमा ११ हजार ५६९ हेक्टरमा चिया खेती भइरहेको तथ्यांक छ । १४ हजार ८ सय ९८ साना किसान चिया खेतीमा सलग्न छन् । तथ्याङ्क अनुसार १ करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख किलो अर्थोडक्स चिया उत्पादन भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार