टोपी दिवसः चाडपर्वमा मात्रै माग बढी, व्यापार औसत मात्रै

बुधबार, १७ पुस २०८१
काठमाडौँ । नेपालमा एक दशकयता हरेक वर्ष जनवरी १ तारिख अर्थात् अंग्रेजी नयाँ वर्षका दिनलाई ‘टोपी दिवस’का रूपमा मनाउन थालिएको छ । अंग्रेजी नयाँ वर्षका दिन नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर दिवस मनाउँदै आएका छन् । तर, पछिल्ला वर्षमा बजारमा परम्परागत ढाका र भादगाउँले टोपीको माग भने घट्न थालेको छ । मानिसहरूले चाडपर्व, बिवाह, ब्रतबन्धमा मात्रै परम्परागत ढाका र भादगाउँले टोपी खोज्ने गरेको व्यापारीहरूको अनुभव छ । असनमा परम्परागत ढाका र भादगाउँले टोपी, दौरा सुरुवालको व्यापार गर्दै आएका रोहित श्रेष्ठ टोपी दिवसलाई नै भनेर मानिसहरु टोपी किन्न नआउने गरेको बताउँछन् । ‘म यो पसलको पाँचौ पुस्ता हुँ । सय वर्ष नै भइसक्यो यहाँ टोपी बेच्न लागेको । ढाकाटोपीको माग पहिलाभन्दा त धेरै नै घटेको हो । तर, दौरा सुरुवालको माग भने बिहे, भोजहरूको लागि माग हुने गरेको छ । अलिक उमेर ढल्केकाहरूले कहिलेकाँही खोज्नुहुन्छ । युवाहरूले त सोध्नु नि हुँदैन,’ उनी भन्छन्, ‘टोपी दिवसकै लागि भनेर आउनेहरू चाहिँ एकदमै कम हुनुहुन्छ ।’ रोल्पाका मनोजमणी आचार्य नेपालीहरूको पहिचानका लागि पनि परम्परागत ढाका र भादगाउँले टोपी लगाउनुपर्ने बताउँछन् । ‘नेपालसहित भारत, भुटान र म्यानमारलगायत संसारभर भएका नेपालीभाषीहरुले पहिचानका लागि पनि परम्परागत ढाका र भादगाउँले टोपी लगाउनुपर्छ र लगाउने गरेको पाइन्छ । पछिल्ला वर्षमा मनाउँदै आइएको टोपी दिवसको इतिहास टोपीसँग छ । यसको मौलिकता छ । युवा पुस्ताको शिरमा टोपी देख्दा खुसी लाग्छ । तर, यसलाई संस्थागत गराउन आवश्यक पनि छ’, उनले भने । विसं २०७० सालदेखि नेपालीहरुमा मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले ‘टोपी दिवस’ मनाउने अभियान थालेका थिए । न्युरोड, असन क्षेत्रमा एक दशक यता परम्परागत टोपी तथा भादगाउँले टोपी बेच्दै आएका गोरख बुढा टोपी दिवस मनाउनुपर्ने बताउँछन् । उनी भन्छन्,‘ढाका टोपी दिवस मनाउनुपर्छ । यो हाम्रो पहिचान पनि हो । दौरा, सुरुवाल, टोपी त नेपालीहरुको पोसाक नै हो नि ।’ असनमा नै टोपी तथा दौरा सुरुवालको व्यापार गर्दै आएकी सबना बानु विदेशमा रहेका नेपालीहरु र नेपाल घुम्न आएका विदेसीहरुले टोपी खोज्ने गरेको बताउँछिन् । ‘नेपालीहरुले मात्र नभई फरेनरहरुले पनि टोपी खोज्नु हुन्छ । पहिला नेपालीहरुले मात्रै टोपी लगाउने भन्ने थियो तर अहिले फरेनरहरुले धेरै नै खोज्नुहुन्छ,’उनी भन्छिन्,‘पहिला एक लाख जति व्यापार हुने गरेकोमा अहिले चारपाँच लाखसम्मको व्यापार हुन्छ । टर, ढाकाटोपी मात्रैको भने यस्तो व्यापार छैन ।’ बाउबाजेको पालादेखि लगाउँदै आएको टोपी अबका छोरा नातीलाई सिकाउनका लागि भए पनि दिवसलाई जोड दिनुपर्ने रविन्द थापा बताउँछन् । उनले भने, ‘नेपाली पहिचानको लागि टोपी लगाइहन्छु । नेपाली पहिचान झल्काउँछ । बाउबाजेको पालादेखिको चलनलाई चलाइरहेको पनि हो । यो त हाम्रो छोरा नातीलाई सुद्द सिकाउनुपर्छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार