प्रायः सबै घरमा चुल्हो बाल्न हम्मे हम्मे छ । ओढ्ने ओछ्याउनेको कमी छ । काठ पात र कमसल समेतको अभावले आगो बाल्न पनि मुस्किल छ । तिर झैँ शरीर घोच्ने पश्चिमी सिरेटोले अधिकांश केटाकेटी बिरामी परेका छन् । भोक भोकै रात बित्छ ।
नेपाली काँग्रेसका नेता रामवृक्ष साह भन्छन्,‘शीतहलरका कारणले रोजगारी पनि पाइँदैन र काम गर्न सक्ने मौसम पनि छैन । मुसहर समुदायको बिजोग भएको छ,’साह भन्छन्,‘तत्कालै मुसहर बस्तीमा खाद्यान्न । ओढ्ने, ओछ्याउने, न्यानो कपडा र औषधी उपचारको खाँचो छ । राहत नदिने हो भने मुसहर बालबालिकाहरू चिसोले मर्न सक्छन् । पूरै मुसहर बस्ती सङ्कटमा छ ।’
गोल बजार नगरपालिकाले अन्न र कपडा त परै जाओस् जाडोमा दाउरा समेत दलित मुसहर बस्तीमा पु¥याउन सकेको छैन । बजार क्षेत्रमा धनी मानी माझ दाउरा वितरण गरियो तर जहाँ गरिब, दलित मुसहर छन् त्यहाँ नगरपालिकाको आँखा परेन,’शुभ नारायण सदाले आक्रोश पोख्दै भने,‘पाँच पटक लीला मालिक र श्याम मालिक दाजुभाइलाई (सांसद लीलानाथ श्रेष्ठ र मेयर श्याम कुमार श्रेष्ठ) भोट हाल्यौ तर हाम्रो अवस्था यस्तै छ । पुल मुनि छौँ ।’
पुलमाथिबाट आउजाउ गर्नेहरू पुल मुनिको मुसहर बस्ती कठाङ्ग्रिने शीतलहरूमा भोको पेट सुतेको थाहा पाउँदैनन् । तर नगरपालिकालाई पनि दलित मुसहर समुदायको अवस्थाबारे बोध र चेत छैन–मुसहर समुदायका अगुवा अरुण सदाले रोष प्रकट गरे ।
अगुवा अरुण सदा भन्छन्,‘यो पुलको आडैमा भवरी मेला (धार्मिक जात्रा) लाग्दछ । आउँदो माघ १ देखि ७ गतेसम्म यहाँ ठुलो मेला लाग्छ । मेलाका लागि पसल थाप्न जग्गा बाँडफाँट हुँदैछ । नगरपालिकाले जात्राका लागि लाखौँ रुपैयाँ सहयोग दिएको छ तर यो मुसहर बस्तीमा नगरपालिकाको नजर पुगेको छैन । यसरी समाजवाद ल्याइदैछ नेपालमा ।’
प्रतिक्रिया