ऋषिकेशका पूर्वस्वकीय पोखरेलले अदालतमा पाँच लाख धरौटी बुझाएर छुटे

विहीबार, १० माघ २०८१
विराटनगर : संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलसँग पाँच लाख रूपैयाँ धरौटी माग गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले अनिलसँग धरौटी माग गरी मुद्दाको पुर्पक्ष गर्न आज (बिहीबार)आदेश दिएको हो । अनिलविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मोरङले बुधबार जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता गरेको थियो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार इजलासको आदेशपछि धरौटीबापतको रकम बुझाएर उनी छुटेका छन् । ‘तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुनेगरी इजलासबाट आदेश भएको हो,’ बुढाथोकीले भने । उनका अनुसार अदालतले आजै अनिलसँग बयान लिएको थियो । बयानपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीचको थुनछेक बहस सकिएसँगै अदालतले उनलाई धरौटी लिएर छाड्न आदेश दिएको हो । अनिलविरुद्ध ३८ लाख ८० हजार रूपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो । उनी गत पुस २५ गते पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान टुंग्याएर मंगलबार मिसिल (अनुसन्धान प्रतिवेदन)सरकारी वकिल कार्यालयमा बुझाएको थियो । मिसिलका आधारमा अभियोगपत्र तयार पार्दै वकिल कार्यालयले अनिललाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । उनले एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । मोरङको रंगेली नगरपालिका–२ घर भइ काठमाडौंमा बस्दै आएका ४३ वर्षीय अनिल नेकपा (एमाले) मोरङका जिल्ला सदस्य हुन् । पार्टीको कोटामा छोरीलाई एमबीबीएस भर्ना गरिदिने भन्दै आफूसँग २०७१ देखि २०७३ सालसम्म रकम लिएको बयान बौआलालले दिएका छन् । एबीबीबीएसमा छोरीको नाम ननिस्किएपछि बौआलालले पैसा फिर्ता माग्दा माग्दा उल्टै आफूसँग जबरजस्ती ५० लाख रुपैयाँ ऋण लिएको कागज अनिलले बनाएको बौआलालले दिएको बयानमा उल्लेख छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार