सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’, प्रधानमन्त्रीले बाँडे खुसी

शुक्रबार, ११ माघ २०८१
बुटवल । निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । अस्वस्थ्यका कारण भौतिक रूपमा उपस्थित हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बालुवाटारबाटै भर्चुअलरुपमा सुरुङको उद्घाटन गरे । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन उक्त सुरुङ मार्गको मुख्य सुरुङ छिचोल्ने काम भएसँग स्थानीयवासी उत्साहित भएका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले अब नेपाल दुर्गमबाट सुगम देशको रूपमा जाँदै गरेको बताए । ‘यो खुसी तपाईँ हामी सबैको खुसी हो । रुपन्देही र पाल्पाका जनताका लागि थप ठुलो खुसीको कुरा हो । यो हामी सबैको सफलता हो, यस्तै सफलताहरू जोडेर देशलाई सफल बनाउन सकिन्छ । यो सरकार स्थायित्व र विकासका लागि बनेको छ,’ प्रधानमन्त्री ओलीले भने । मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत उपस्थित रहेको थियो । सुरुङ मार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गरी सुरुङ मार्ग निर्माण ठेक्का लगाएको थियो । सुरुङभित्र केही समस्या आए निस्कन मिल्ने गरी तीन वटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो । यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ । पहिलो बाइपास माथिल्लो सिद्ध बाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ । वि.स २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भए पनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरुङ खन्न थालेको हो । सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार