जंगबहादुर राणाको वार्षिक तलब डेढ करोडभन्दा बढी !

मंगलबार, १४ चैत्र २०७९
मन्दिप भट्टराई नेपालमा राणा शासनको अन्त्य भएको ७२ वर्ष भैसकेको छ । यद्यपि कसैलाई निरकुश बताउनु पर्यो भने “राणा” जस्तो भनेर हाम्रो समाजमा भनिने चलन भने गएको छैन । १०४ वर्ष एकलौटी निरंकुश शासन सत्ता चलाएको राणा परिवार र तिनका मूल मानिसहरुका बिभिन्न आयामहरू अध्ययन र अनुसन्धानका  विषय हुन् । इतिहास र राजनीतिमा रुचि हुनेहरुका निम्ति राणाहरु जहिल्यै रुचीका विषय हुन् । उनीहरु कसरी राज्य संचालनको मुलधारमा आए? कसरी राजकाज गर्थे? कस्तो परिकार खान्थे? कसरी बोल्थे? कस्तो लुगा लगाउथे? गरगहना कस्तो थियो ? आदि कुराहरु जहिल्यै खोज र अनुसन्धानको विषय बनेको छ । त्यसैले पनि बिभिन्न नेपाली तथा विदेशी इतिहासविद् र लेखकहरुले राणाहरुको बारेमा प्रशस्त लेखेको पाइन्छ । यसै सन्दर्भमा नेपालमा राणा शासनको बिउ रोप्ने प्रथम राणा प्रधानमन्त्री जंगबहादुरको बारेमा लेखिएको एक पुस्तक “  जंगबहादुरको युग ऐतिहासिक अध्ययन “ गत असारमा प्रकाशित भएको छ । लेखक तथा अनुसन्धानकर्ता राजकुमार दिक्पालले लेख्नु भएको र सांग्रिला प्रकाशनले प्रकाशित गरेको यस पुस्तक बिभिन्न लेखक, अनुसन्धानकर्ता, इतिहासविद्हरुका प्रकाशित, अप्रकाशित र उनीहरुसग गरिएका कुराकानीमा आधारित भएर लेखिएको पुस्तक हो । जंगबहादुर रानाका विविध पक्षहरु जस्तै उनको उदय,  षड्यन्त्र, उनका षड्यन्त्र,  प्रेम, उनका अभाव आदिका बारेमा लेखिएको यस पुस्तकमा उनि संग सम्बन्धित १३ वटा विविध प्रसंगका बारेमा ब्याख्या तथा विश्लेष्ण गरिएको पाइन्छ । यसबेला भने जंगबहादुर राणा प्रधानमन्त्री हुदा उनले प्राप्त गर्ने गरेको आर्थिक सुबिधाकोबारेमा चर्चा गर्न लागिएको छ । कोतपर्व मार्फत नेपालको राजनीतिमा सर्वासक्तिमान शासकको रुपमा उदाएका प्रधानमन्त्री जंगबहादुर राणाले वि.स. १९१० मा प्राप्त गर्ने तलब वार्षिक रु. ८३,६२० थियो । आफ्नो र आफ्ना नातेदारहरुको तलब तथा सेवा सुविधाहरु आफै तोक्न पाउने उनले नाबालक नाति युद्द्प्रताप जंग (जगतजंगका छोरा) का निम्ति समेत तलब छुट्टाएको भन्नि पुस्तकमा चर्चा गरिएको छ । यस लेखको शीर्षकमा भनिएजस्तो डेढ करोभन्दा बढी भने त्यतिबेलाको त्यस रकमको क्रयशक्ति र अहिलेको बजार भाउ तुलना पुस्तकमा नै उल्लेख गरिएको छ । पुस्तकमा चर्चा गरीए अनुसार एक रुपैयामा २२ माना मसिनो चामल आउथ्यो । त्यसैगरी मार्सी चामल ३० माना, रहरको दाल १४ माना, एक धार्नी घ्युको दाम समेत १ रुपैया नै थियो ।यिनै वस्तुहरुको हालको बजार मुल्यलाइ तुलनात्मक अध्ययन गर्दा हालको अवस्थामा जङ्गबहादुर राणाको वार्षिक तलब रु. १,५६,७८,७५० हुन् जान्छ । नेपालका प्रधानमन्त्रीको हालको वार्षिक तलब (१२x७७२७५=९२७३००) रहेको छ । यसलाई तुलनात्मक रुपमा हेर्ने हो भने कमरेड प्रचण्डको भन्दा जंगबहादुर राणाको तलब लगभग १७ गुणा बढी हुनेथ्यो । मात्र १३ वर्षको उमेरमा पल्टनमा सुवेदारका रुपमा जागिरे जीवन सुरुगरेका अत्यत्नै साहसी, चतुर र अविस्मरणीय पात्रको रुपमा जंगबहादुर राणा रहनेछन । उनका जीवनका अनेक पक्षहरुको बारेमा बुझ्न यस १६६ पृष्ठको पुस्तक अत्यन्तै फलदायी हुने मलाइ लाग्दछ । देशका प्रखर र क्षमतावान इतिहासविदहरु ज्ञानमणि नेपाल, पुरुषोत्तम शमसेर, महेशराज पन्त आदि तथा बिभिन्न विदेशी लेखकहरुका सन्दर्भ सहित भएको यस पुस्तकको भाषा शैली समेत राम्रो छ । इतिहासका चर्चित पात्रहरुले अर्कालाई लेखेका पत्रहरुका कुराहरु त्यतिबेलाकै भाषा शैलीमा राखेर पुस्तक थप बलियो बनाउन लेखकले मेहेनत गरेको बोध गर्न सकिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार