‘नक्कली मतदाता’ को नाम समावेश भएपछि रामधुनी उवासंघमा विवाद

मंगलबार, १४ चैत्र २०७९
झुम्का । उद्योग वाणिज्य संघ रामधुनीमा नक्कली मतदाता भेटिएपछि विवाद उत्पन्न भएको छ । संघको नेतृत्वका लागि चैत १९ गते निर्वाचन हुँदैछ । त्यसअघि नै नक्कली मतदाताको नाम भेटिएपछि विवाद भएको हो । आफ्नो भूगोल अनुसारका मतदाता हुनुपर्ने भएपनि बाहिर व्यवसाय भएका मतदाताको नाम समावेश गरेको पाइएपछि विवाद उत्पन्न भएको हो । अध्यक्षका उम्मेदवार भरत कार्कीका अनुसार इटहरी र इनरुवामा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई रामधुनी ठेगाना हालेर मतदाता नामावलीमा राखेको पाइएको छ । यता अध्यक्षकै प्रत्यासी दुर्गा फुयालले पनि निर्वाचनका लागि जथाभावी हालिएका मतदाताहरुको बारेमा छानबिन गर्नुपर्ने बताए । ‘चुनाव जित्ने मात्रै उद्देश्यले बाहिरी क्षेत्रका मतदाता ल्याएर हालेको पाइएपछि १५ जनाको हस्ताक्षरमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी गरेका छौँ,’ कार्कीले भने, ‘इटहरी ९ मा व्यवसाय भएकालाई रामधुनी ९ बनाएर मतदाता बनाइएको छ, इनरुवामा व्यवसाय भएकालाई पनि रामधुनीकै ठेगानामा मतदाता नामावलीमा समावेश गरिएको छ ।’ आधिकारिक व्यापारी नभएका र भूगोलभित्र नपर्नेलाई मतदाता नामावलीमा समावेश गरिएपछि आफूहरूलाई प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसमक्ष उजुरी गरिएको उनले बताए । प्रजिअ पाण्डेले निर्वाचन अधिकृत डिल्ली कार्की र उवासंघ रामधुनीका वर्तमान अध्यक्ष धर्मेन्द्र साहलाई बोलाएर स्पष्टीकरण पनि लिएकी छन् । ‘फेक’ मतदाता भएको पाइए सच्याउन र बिधानसम्बत निर्वाचन गराउन उनले निर्देशन दिएकी छन् । तर निर्वाचन अधिकृत कार्कीले भने अहिले सम्म सर्बपक्षिय छलफल समेत गराएका छैनन । उनले आफू बिधान सम्मत अघि बढने दाबी गर्दै बुधबार सम्ममा निकास दिने बताए । १ हजार ४९० मतदातामध्ये हालसम्म ७० जनाभन्दा बढी ‘फेक’ मतदाता भेटिएको जनाइएको छ । निर्वाचनका लागि अध्यक्षमा भरत कार्कीसहित उनको प्यानल, दुर्गा फुयाँलको प्यानल, नवीन चौधरीको प्यानल र भोला रौनियारको प्यानल चुनावी प्रतिस्पर्धामा छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार