काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले व्यापारीको फाइदाको लागि र केही राजनीतिक नेताको कमिसनको लागि पाथीभरामा केबलकार निर्माण थालिएको आरोप लगाएका छन् ।
आइतबार पार्टी कार्यालय धुम्वराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेताहरूको शेयर सुनिश्चितता लागि जनतमाथि गोली चलाएर र दमन गरेर केबलकार अहिले बनाउन जरूरी नरहेको बताएका हुन् ।
उनले भने, ‘अहिले देशमा एउटा घट्नाले ठूलो चर्चा पाइरहेको छ । पाथीभरामा केबलकार बनाउने नाममा जुन प्रकारको ज्यादती सरकारले गरेको छ । म त्यसको निन्दा गर्न चाहन्छु । कुनै व्यापारीको फाइदाको लागि केही नेताको कमिसनको, केही नेताहरूको शेयर सुनिश्चितताको लागि जनतामाथि गोली चलाएर दमन गरेर त्यो केबलकार अहिले बनाउन जरूरी छैन ।’
उनले केबलकारको निर्माण कार्य दमन तत्काल रोकेर त्यहाँको जनजीवनलाई सहज बनाउन सरकारको ध्यानाकर्षण गराए । सरकार यसप्रकारको व्यवसायिक विषय र व्यक्तिको लाभसँग सम्बन्धित विषयहरूमा मात्र केन्द्रीत हुँदै गए राप्रपाले त्यसको प्रतिकार गर्ने उनले बताए ।
उनले भने,‘त्यो आवश्यकता हो कि होइन, जनतालाई कति फाइदा गर्छ ? र त्यसले त्यहाँको मौलिकताको संरक्षण गर्छ कि गर्दैन ? परम्परामाथि आक्रमण हुन्छ कि हुँदैन ? त्यसको विश्लेषण गरेर मात्र यस्ता विषय अगाडि बढाउनुपर्छ । त्यसैले अहिले केबलकारको निर्माण कार्य तत्काल रोक्न र दमन रोकेर जनजीवनलाई सहज बनाउन जरूरी छ । भय र आतंकको वातावरण अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रतिक्रिया