‘सरस्वती पूजा जीवनलाई उर्जाशील बनाइराख्ने पर्व हो’

सोमबार, २१ माघ २०८१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वतीपूजा जीवनलाई उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको बताएका छन् । सोमबार वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यो पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण गर्ने बताए । जारी सन्देशमा भनिएको छ, ‘वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व पनि हो । यस पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवम् सम्वद्र्धन गर्दै सबै नेपालीहरूमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी पुनःहार्दिक शुभकामना व्यक्त गर्दछु । यस्तै, सरस्वतीलाई शिक्षा, ज्ञान र संगीतकी देवीको रुपमा पुजिने भन्दै नवीन कार्यको प्रारम्भ, विवाह, व्रतबन्ध आदि जस्ता शुभ कार्यका लागि पनि आजको दिन शुभ रहेको बताए । सन्देशमा भनिएको छ, ‘सरस्वतीलाई शिक्षा, ज्ञान र संगीतकी देवीको रुपमा पुजिन्छ । आजको यस शुभ दिनमा आफ्ना बालबालिकाहरूलाई विद्यालय भर्ना गरेर अक्षराम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको छ । संगीतका पारखीहरूका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिदैँ आइएको छ । नवीन कार्यको प्रारम्भ गर्न चाहनेहरूले र लगनको साइत जुराउनु पर्ने विवाह, व्रतबन्ध आदि जस्ता शुभ कार्यका लागि यस दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ ।’ साथै, उनले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजको दिनले प्रेरणा प्रदान गर्ने पनि बताए ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार