स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : केराबारी फाइनलमा प्रवेश

मंगलबार, २२ माघ २०८१
इटहरी : इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको मंगलबार भएको अन्तिम सेमिफाइनल खेलमा केराबारी फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ । केराबारीले सिंहदेवी फुटबल क्लब धनकुटालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा केराबारीले सिंहदेवीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलका लागि सिट सुरक्षित गरेको हो । यससँगै अब बिहीबार हुने फाइनल खेलमा केराबारी र लोहोरुङ फुटबल क्लब संखुवासभाबीच भीडन्त हुने पक्का भएको हो । मंगलबारको खेलमा केराबारीका लागि ५३ औँ मिनेटमा नितेश लिम्बूले गोल गरे । निर्धारित समयमा दुवै टिमबाट थप गोल नभएपछि उक्त गोल नै निर्णायक बन्यो । प्रतियोगितामा केराबारीका लागि विदेशी खेलाडी एलेक्स म्यान अफ दि म्याच घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे । आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार प्रतियोगितामा कोशी प्रदेशका आठ वटा टिम सहभागी थिए । माघ १७ गते उद्घाटन भएको प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्ने सुब्बाले जानकारी दिए । उपविजेता टिमले नगद एक लाख ३० हजारमा चित्त बुझाउनेछ । अघिल्लो वर्ष विजेतालाई दुई लाख २२ हजार प्रदान गरिएको थियो भने उपविजेताले एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेका थिए । तर, यस वर्ष पुरस्कार राशि बढाइएको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार