‘सरकारले कर बढायो । बैंकको ब्याजदर पनि बढ्यो । गाडी आउन सकेन’ उनले भने, ‘आर्थिक मन्दीले खरिदबिक्री ठप्प बनेको छ ।’
बुधबारबाट गाडीको बुकिङ खुला भएपनि ग्राहकमा उत्साह नभएको शाक्य बताउँछन् । ‘चार पाङ्ग्रे विद्युतीय सवारी साधनमा सरकारले अवैज्ञानिक तवरले कर बढाउँदा ग्राहकले अधिकांश बुकिङ फिर्ता गरेका छन्’ उनले भने ।
इटहरीमा करिब एक दशकदेखि सुजुकीको चारपाङ्ग्रे सवारीको आधिकारिक बिक्रेता रहेको ‘एब्सुलुट अटो’ का बजार व्यवस्थापक कुशल लामिछानेका अनुसार अटोमोबाइल व्यवसाय ९ वर्षयताकै अत्यन्तै अफ्ठ्यारो अवस्थामा पुगेको छ ।
‘अटो मोबाइल व्यवसाय ९ वर्ष यताको सबैभन्दा खराब अवस्थामा छ’ उनले भने, ‘९५ प्रतिशतसम्म खरिदबिक्री घटेको छ । बैंकको ब्याज तिर्न सकिएको छैन ।’
इटहरीस्थित सोरुममा १० जनासम्म कर्मचारीले काम गरिरहेकामा अहिले दुईजना कर्मचारी मात्र कार्यरत रहेको उनले बताए ।
विराटनगर र इटहरीमा हुन्डाई ब्राण्डको आधिकारिक बिक्रेता रहेको ‘रोयल अटो वर्ड’ र पाथीभरा अटो लिंकका प्रवन्ध निर्देशक महेश पौडेलले अटो व्यवसाय निकै अफ्ठ्यारो अवस्थामा रहेको बताए ।
नेपालमा सबैभन्दा बढी असर परेको व्यवसाय अटोमोबाइल क्षेत्र रहेको बताउँदै पौडेलले भने, ‘दर्दनाक अवस्था छ । महिनामा एउटा सोरुमबाट दुईसय हाराहारी गाडी बिक्री हुने गरेको अहिले ३०/३५ वटा गाडी बिक्री गर्न पनि समस्या छ ।’
सबैभन्दा बढी बिक्री हुने ब्राण्डको पनि यो दर्दनाक अवस्था रहेको उनी बताउँछन् । पौडेल भन्छन्, ‘ग्राहक गाडी खरिद गर्न चाहन्छन्। गाडी बुझ्न शोरुम पनि आउँछन् । ग्राहकले बैंक फाइनान्स गरिदिन आग्रह गर्छन् । फाइनान्स नहुँदा गाडी बिक्री गर्न सकिरहेका छैनौँ ।’
नेपाली बजारमा इन्धनबाट चल्ने विभिन्न सवारीसाधन बिक्री वितरण गर्दै आएको टाटा मोटर्सको इटहरीस्थित आधिकारिक बिक्रेता ‘ग्लोबल अटो ट्रेडर्स’ का कोशी प्रदेशका बजार व्यवस्थापक देबेन्द्र कार्कीले कम्पनीकै अन्य गाडीहरुको बिक्री घटेको भएपनि टाटाको इलेक्ट्रिक गाडीको बिक्री उत्साहजनक रहेको बताउँछन् ।
‘टाटाको कमर्सियल गाडीहरुको खरिद बिक्रीमा धेरै ह्रास आएपनि इलेक्ट्रिक गाडीको बिक्रीमा भने उत्साहित छौं’ कार्कीले भने ।
टाटा ब्राण्डका कमर्सियल गाडीहरु वार्षिक ३०० वटासम्म खरिद बिक्री हुनेगरेकोमा वार्षिक ३० वटामा झरेको कार्कीले बताए ।
इटहरीमा अटोमोबाइलको दुईवटा सोरुम सञ्चालन गरेका पारसमणि गेलाल लामो समयदेखि व्यवसायमा मन्दीले प्रभावित पारेको बताउँछन् ।
किया मोटरको आधिकारिक बिक्रेता ‘ओम साइ मोटोकर्प प्रालि’ र रिनल्ट ब्राण्डको आधिकारिक बिक्रेता ‘इस्टर्न मोटर्स’ का सञ्चालक रहेका उनी भन्छन्, ‘खरिदबिक्री करिब ठप्पजस्तै हुँदा व्यवसाय सञ्चालन गर्नै कठिन भएको छ । अटो बजार खराब स्थितिबाट ग्रुजिरहेको छ ।’
उद्योग वाणिज्य महासंघका कोशी अध्यक्ष राजेन्द्र राउतले अटोसम्बन्धी सरकारी नीतिले व्यवसाय पूरै ठप्प भएको बताए । बैंकहरुको तरलतामा समस्या भएका कारण अटो लोन सहज नहुँदा समस्या बढेको उनको भनाई छ ।
आर्थिक मन्दीका कारण औद्योगिक उत्पादनहरुको बजार घटेकाले उत्पादनमा कटौती भएको भन्दै उनले पूर्ण क्षमतामा उद्योग व्यवसाय सञ्चालन नभएकाले कमर्सियल गाडीको बिक्री कम भएको बताए ।
प्रदेश खबरसँगको कुराकानीमा उनले भने, ‘बैंकमा तरलताको कमी, फाइनान्सको समस्या, विदेशी मुद्राको रेट बढ्नु, बिलासिता भन्दै विगतमा आयातमा लगाइएको रोकले आयातकर्ता ‘पर्ख र हेरको अवस्थामा छन्, ठूलो लगानीमा सुरु गरिएका सोरुमहरु बन्द छन् । लगानीकर्ता धरासायी बन्दै छन् ।’
उनले सरकारी नीति र बैंकिङ ब्याजदरका कारण नेपाली बजारमा प्राइभेट गाडी आवश्यकताभन्दा धेरै महँगो भएको भन्दै अटोमोबाइल व्यवसायलाई सहज बनाउँन सहज फाइनान्स हुनुपर्ने बताउँछन् ।
मुलुकमा कोभिड महामारी सुरु भएपछि गत वर्ष चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले विदेशी मुद्रा सञ्चितिका लागि भन्दै महँगा सवारी र कृषि उपजको आयातमा कडाइ गरेको थियो ।
सरकारले जिप, कार र भ्यान आयातमा लगाएको प्रतिबन्धले विदेशी विनिमय सञ्चितिमा ठूलो योगदान नगरेको भन्दै व्यवसायीले फुकुवा गर्न माग गरेका थिए ।
आयात प्रतिबन्धका कारण उल्टै सरकारको राजस्व गुमेको भन्दै तत्काल प्रतिबन्ध खोलिनुपर्ने व्यवसायीको दबाबपछि आयात खुला गरिएको थियो ।
हजारौंको रोजगारी गुम्यो
कोशी प्रदेशमा हाल सञ्चालन भइरहेका शोरुम र त्यहाँका कामदारको अवस्था कोरोना महामारीका बेलाभन्दा कष्टकर रहेको पाथीभरा अटो लिंकका प्रवन्ध निर्देशक महेश पौडेलले जानकारी दिए ।
कोरोना महामारीपछि केही गति लिन थालेको अटोमोबाइल व्यवसायमा आयात प्रतिबन्ध लागेदेखि नै धेरै कर्मचारीका तलब ३० देखि ४० प्रतिशतसम्म कटौती गरिएको छ भने धेरै सोरुमहरुले कार्मचारीलाई कामबाट हटाएका छन् ।
इन्धन गाडीसँग सम्बन्धित व्यवसायमा जोडिएका धेरैलाई महिनामा १५ दिन काममा लागउने र आधा महिना छुट्टीमा बस्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
कर्मचारीमा तलब खर्च भइरहेको अवस्थाले कोरोना महामारीको निषेधाज्ञा समयभन्दा निकै संकटपूर्ण अवस्था रहेको व्यवसायी बताउँछन् ।
कोशी प्रदेश र मुलुकका अरु स्थानमा सञ्चालित अटो व्यवसायमा कार्यरत् हजारौं कामदारहरुको रोजगारी गुमेको व्यवसायीहरुले बताएका छन् ।
प्रतिक्रिया