इटहरीमा जनप्रतिनिधि र कर्मचारीबीचको टकराब बढ्दै, उपमेयरले लगाएको ताला मेयरको निर्देशनमा फोडियो

विहीबार, २४ माघ २०८१
इटहरी : इटहरी उपमहानगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीचको टकराब बढ्दै गएको छ । उपप्रमुख संगीता कुमारी चौधरीको नेतृत्वमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले तत्कालीन प्रशासन महाशाखा प्रमुख सञ्जीव खड्काको कार्यकक्षमा गत माघ ११ गते तालाबन्दी गरेका थिए । तालाबन्दीको विषयलाई लिएर कर्मचारीसँग सम्बन्धित संगठनहरूले आपत्ति जनाउँदै ४८ घण्टाभित्र तालाबन्दी खोल्नुपर्ने माग राख्दै आन्दोलनरत थिए । तर, १३ दिन बित्दा पनि तालाबन्दी नखोलिएपछि बुधबार मेयर हेमकर्ण पौडेलको निर्देशनमा तालाबन्दी खोलिएको छ । पौडेलको निर्देशनमा इटहरी ६ का वडाध्यक्ष एवम् उपमहानगरका प्रवक्ता दिवस पोखरेलले ताला फोडेका हुन् । ताला फोडेपछि उपप्रमुख चौधरीसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले आक्रोश व्यक्त गरेका छन् । आफूहरूको सहमति बिना नै ताला फोडेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । यसअघि तत्कालीन प्रशासन प्रमुख खड्काको देवानगञ्ज सरुवा भएसँगै उक्त शाखामा दीपक पौडेलले काम सुरू गरिसकेका छन् । खासगरी गत २८ पुसमा मेयर हेमकर्ण पौडेल र प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताको निर्देशनमा तत्कालीन प्रशासन महाशाखा प्रमुख खड्काको हस्ताक्षरमा ७७ जना कर्मचारीको सरूवा गरिएको थियो । कर्मचारी सरूवामा मनपरी गरेको र एमालेबाट निर्वाचित जनप्रतिनिधिसँग सल्लाह नगरिएको भन्दै उपप्रमुख चौधरीसहितका जनप्रतिनिधि आक्रोशित थिए । कर्मचारी सरूवा गर्दा पक्षपात गरेको भन्दै माघ ३ गते कार्यवाहक मेयर चौधरीको अध्यक्षतामा बसेको बहुमत कार्यपालिका सदस्यको बैठकले सरूवाको निर्णय उल्टाएको थियो । मेयर पौडेलले चौधरीलाई कार्यवाहक प्रमुख तोकेर आफू भारत गएको समयमा चौधरीले प्रशासन प्रमुखकको कार्यकक्षमा तालाबन्दी गरेपछि विवाद उत्कर्षमा पुगेको हो । मेयर पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कर्मचारी ट्रेड युनियनहरूद्वारा आन्दोलनको कार्यक्रमसहित प्रेस विज्ञप्ति जारी भएको अवस्थामा २२ माघ २०८१ मा मेरो कार्यकक्षमा उपप्रमुखसहित जनप्रतिनिधिहरूसँग समस्या समाधानका निम्ति छलफल भएको थियो । तर, प्रशासन शाखामा लगाइएको ताला खोल्ने विषयमा सहमति हुन सकेन ।’ यसबारे आज (बिहीबार) पुनः छलफल गर्ने तयारी छ । बिहीबारको छलफलमा पनि सहमति नजुटे मेयरकै कार्यकक्षमा तालाबन्दी गरिने चेतावनी दिइएको उपप्रमुख चौधरीले बताइन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार