काठमाडौँ : गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँँदै उनले नेहा र सत्येन्द्र बीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेद्भाव विरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताए ।
उनले नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील रहेको भन्दै यस विषयमा प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले भने, ‘नेहा रौनियार र सत्यन्द्ररामबीच भएको अन्तरजातीय विवाह सम्बन्धमा प्रकाशित समाचार, अभिव्यक्त चासोहरू र सदनमा सदस्यहरूले उठाउनु भएको विषयमा मेरो ध्यान गम्भीर रूपले गएको छ । यस विषयमा म र मेरो मन्त्रालय संवेदनशील रहेको छ ।
नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ ।
म अत्यन्त धेरै संवेदनशील छु । म कुनै पनि प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा सधैँ रहने छु र रहेको छु । म यसमा अहिले पनि र जीवभर प्रतिबद्ध रहेको कुरा जानकारी गराउन चाहन्छु ।’
यसको साथै, उनले वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको लागि विद्यार्थी कालदेखि नै लड्दै आएको भन्दै अन्तरजातीय विवाहप्रति पूर्वाग्रह भयो भन्नु जीवन मूल्य र आदर्शप्रति नै अवमूल्यन भएको बताए ।
उनले भने, ‘वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको ग्यारेन्टीका लागि विद्यार्थी कालदेखि नै लड्दै आएको म अन्तरजातीय विवाहप्रति पूर्वाग्रह भयो भन्नु मेरो जीवन मूल्य र आदर्शप्रति नै अवमूल्यन हो भन्ने ठानेको छु । अन्तरजातीय विवाह बारे देशमा पटक पटक विषय उठ्ने गरेका छन् । अन्तरजातीय विवाहलाई कानुनले नै मान्यता दिएको छ उक्त कानुनी विषयलाई कार्यान्वयन गर्ने निकाय गृह मन्त्रालय हो । गृह मन्त्रालय कानुनी व्यवस्थालाई अक्षरशः कार्यान्वयन गराउन प्रतिबद्ध छ ।’
उनले आफू मात्र होइन आफ्नो पार्टी नेपाली कांग्रेस पनि जातीय विभेद र छुवाछुत विरुद्ध रहेको बताए ।
प्रतिक्रिया