इलाम : इलामको रोङ गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरको संरक्षण समिति पुनर्गठन गरिएको छ ।
शुक्रबार मन्दिर परिसरमै भएको भेलाले पुनः दिलीप राई वाङ्देलको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो ।
गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास), उपाध्यक्ष विष्णुमाया खवास, प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानलगायतको उपस्थितिमा सम्पन्न भेलाले पुरानै समितिका पदाधिकारी र धेरैजसो सदस्यलाई पुनः चयन गरेको हो ।
समितिको सचिवमा एगा अर्याल तथा कोषाध्यक्षमा कृष्ण भुजेल पुनः चुनिए । पुरानो समितिले दुई वर्ष पूरा गरेसँगै पालिकाले सम्मानसमेत गरेको छ ।
पाथिभरा मन्दिरको व्यवस्थापन दुई वर्षयता पालिका मातहत रहेको छ । स्थानीय सरकार सञ्चालन ऐनको अधिकार प्रयोग गरी रोङले पाथिभरा मन्दिर आफू मातहत ल्याएको हो ।
त्यसअघिसम्म मन्दिरबाट पालिकामा कुनै राजस्व संकलन हुँदैनथ्यो । तर, पालिकाले सञ्चालन गर्न थालेपछि अहिलेसम्म तीन करोड ३६ लाख रुपैयाँ जम्मा भएको अध्यक्ष स्याङ्बोले जानकारी दिए । उनका अनुसार मन्दिरले पालिकाको आन्तरिक आम्दानीमा ठूलो भरथेग गरेको पनि जनाए ।
पालिकाअन्तर्गत मन्दिर आएपछि मन्दिरको भौतिक पूर्वाधारका काम पनि भएको उनको भनाइ छ ।
पाभिरामा प्रायः मंगलबार र शनिबार धार्मिक पर्यटकको भीड लाग्ने गरेको छ ।
प्रतिक्रिया