विराटनगर : कोशी प्रदेशबाट नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)को पार्षदमा अधिवक्ता राजु ढकाल निर्वाचित भएका छन् ।
पार्षद चयनका लागि शनिबार निर्वाचन भएको थियो । कोशी प्रदेशमा विराटनगर, इलाम, झापा, धनकुटा र उदयपुर गरेर पाँच वटा केन्द्रमा मतदान भएको हो ।
अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेस निकट डीएलए र नेकपा (एकीकृत समाजवादी)निकट एसपीएलएको गठबन्धनबाट उम्मेदवारी दिएका ढकालले चार सय ५० मत प्राप्त गरे ।
उनका प्रतिस्पर्धी नेकपा (एमाले)निकट पीपीएलए, नेकपा (माओवादी केन्द्र)निकट आरपीएलए, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट पीएलए, मोहन वैद्यनिकट एनपीएलए र जनता समाजवादी पार्टी (जसपा)निकट एफएलएसहितको ‘प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी’ गठबन्धनका उम्मेदवार बालकृष्ण आचार्यले ४ सय २३ मत प्राप्त गरे ।
डीएलए–एसपीएलए गठबन्धनका उम्मेदवार ढकालले प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी गठबन्धनका उम्मेदवार आचार्यलाई २७ मतान्तरले पराजित गरेका हुन् ।
ढकाललाई विराटनगरबाट तीन सय ३१, इलामबाट १७, झापाबाट ६०, धनकुटाबाट १८ र उदयपुरबाट २४ मत प्राप्त भएको छ ।
आचार्यलाई विराटनगरबाट दुई सय ७४, इलामबाट ४०, झापाबाट ६१, धनकुटाबाट २१ र उदयपुरबाट २७ मत प्राप्त भएको थियो । विराटनगरमा ६ सय १२ मत खसेकोमा ७ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विश्वराम भट्टराईले बताए ।
बार काउन्सिलको पार्षद चयनका लागि शनिबार सात वटै प्रदेशमा निर्वाचन भएको थियो । काउन्सिलका लागि सात वटै प्रदेशबाट १–१ जना पार्षद निर्वाचित हुने प्रावधान छ । प्रत्येक प्रदेशमा २–२ जनाको उम्मेदवारी परेको थियो ।
प्रतिक्रिया