विराटनगर : सुनसरीको दुहबीमा अहिले बस र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परेर इटहरी घर भएकी महिलाको मृत्यु भएको छ । मृतकका छोरा घाइते भएका छन् ।
प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत दुहबी नगरपालिका–८ हुलास फ्याक्ट्रीअगाडि आज (सोमबार) मध्यान्ह १२ बजेतिर दुर्घटना भएको हो ।
विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७०२३ नम्बरको चन्द्रमा यातायातको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६ प ५५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–५ की ५० वर्षीया चिनिमाया बुढाथोकीको मृत्यु भएको छ ।
गम्भीर घाइते भएकी उनलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनामा परेर मोटरसाइकल चालक इटहरी–५ का २१ वर्षीय नवराज बुढाथोकी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । मृतक र घाइते आमा–छोरा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरीले बसका चालक सुनसरीको धरान उपमहानगरपालिका–८ का ३९ वर्षीय बुद्धि तामाङलाई पक्राउ गरेको छ । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ ।
प्रतिक्रिया