इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस स्वतन्त्रताप्रतिको आफूहरूको निष्ठा व्यवहारसिद्ध रहेको उल्लेख गरेका छन् ।
प्रदेश खबर डटकम स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ लाई शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएको हुन् ।
‘भ्रामक र मिथ्या सूचना–समाचारले समाजमा एक प्रकारको विद्वेष र विवाद सिर्जना गरी सामाजिक अराजकता र अस्थिरता मच्चाउने कोसिस भइरहेका सन्दर्भमा त्यसलाई चिरेर जनतालाई सही सूचना प्रवाह गर्न प्रदेश खबरजस्ता सञ्चार माध्यमले आफूलाई अग्रणीरुपमा प्रस्तुत गर्न सक्नुपर्छ ।’ उनले भनेका छन् ।
मुलुक यति बेला राजनीतिक सङ्क्रमणको अन्त्य गरी विकास र समृद्धिको अभियानमा अग्रसर रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अबका सबै पाइला विकास र समृद्धितर्फ अग्रसर रहेको उल्लेख गरे ।
‘विगतमा हाम्रो अधिकांश समय अधिकार प्राप्तिको संर्घषमा व्यतीत भयो । आज परिवर्तन भएको छ, जनताले राजनीतिक अधिकार प्राप्त गरेका छन् ।’ प्रधानमन्त्रीले भनेका छन् ।
खास गरी सुनसरीस्थित नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा ’कोशी एक्सिलेन्स अवार्ड २०८१’ आयोजना गर्न बुधवार (आज) गर्न लागेको हो ।
इटहरीस्थित सोल्टी वेस्टेन्डमा दिउँसो ३ बजेदेखि हुने कार्यक्रममा १३ विधाका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिने मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया