काठमाडाैं : वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा उल्लेखनीय राजस्व संकलन गर्दै रु ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजारको ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु सात अर्ब ९५ करोडले वृद्धि भएको हो।
कार्यालयले निर्धारित लक्ष्यअनुसार सोही अवधिमा रु एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चापदार्थ तथा पेट्रोलियम पदार्थको आयातमा भएको वृद्धिले राजस्व संकलनमा समेत उछाल ल्याएको छ। “अघिल्ला दुई महिनादेखि राजस्व संकलन दर निरन्तर बढिरहेको छ,” तिवारीले जानकारी दिँदै भने, “यसले आर्थिक गतिविधि सजीव हुँदै गएको सङ्केत गर्दछ।” आर्थिक वर्षको शुरुवाती तीन महिनामा क्रमशः साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड र असोजमा रु १३ अर्ब ४७ करोड राजस्व संकलन भएको थियो। सरकारको निर्देशनअनुसार वीरगञ्ज भन्सार कार्यालयलाई चालु आर्थिक वर्षभरि रु दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ। व्यापारिक गतिविधिमा देखिएको सकारात्मक प्रवृत्ति तथा आयात निर्यातको वृद्धिसँगै भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्ने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया