धरान : धरान १० के नेवा च्यारिटी रनको १३ औँ संस्करण आगामी फागुन १० गते शनिबार आयोजना हुने भएको छ।
“शिक्षाको निम्ति च्यारिटी दौड” नाराका साथ यो प्रतियोगिता यस वर्ष झनै भव्य रूपमा सम्पन्न गरिने आयोजक धरान रन समूहले जनाएको छ। संस्थापक सन्तोष राईका अनुसार यस वर्ष नेपालकै धेरै धावकधाविकाको सहभागिता रहनेछ। साथै, खेलकुद प्रवर्द्धन र जनचेतना अभिवृद्धिका लागि विशेष कार्यक्रमसहित व्हीलचेयर रेससमेत समावेश गरिएको छ।
धरान रन समूहले हरेक उमेर समूहका महिला तथा पुरुषलाई शारीरिक तथा मानसिक रूपमा सबल बनाउन दौड प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ। अध्यक्ष रमु राईका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरूको सहभागिता रहने यस प्रतियोगिताबाट संकलित रकम अपांग, असहाय महिला तथा बालबालिकाको स्वास्थ्य र शिक्षाका लागि अक्षयकोष खडा गर्न खर्च गरिनेछ। यसपटक संकलित रकम विशेष गरी जेहेन्दार र विपन्न विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्न प्रयोग गरिने बताइएको छ।
यसपटकको संस्करणमा करिब चार हजारभन्दा बढी धावकधाविकाको सहभागिता रहने अपेक्षा गरिएको छ। दौडसम्बन्धी मापन अझ व्यवस्थित बनाउन टाइमिङ चिप प्रविधिको प्रयोग गरिनेछ। दौडको मार्ग बिहान ठिक साढे सात बजे पुतलीलाइनबाट सुरु हुनेछ। त्यसपछि देशी लाइन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, हातिसार क्याम्पस, रेडक्रस भवन, अमरहाट कभर्ड हल, जिरो प्वाइन्ट, जानकी चौक, धरान रंगशाला, गणेशमान चौक, पानी टंकी, कल्याण चौक, मंगलबारे, रत्न चौक, बुद्ध चौक, दुर्गा चौक हुँदै पुतली लाइन, भानुचौकमा आएर समापन गरिनेछ।
प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। १६ देखि ३९ वर्षसम्मका खुल्ला दौड समूहका महिला तथा पुरुषतर्फ प्रथम हुनेलाई ६० हजार, दोस्रो हुनेलाई ४० हजार र तेस्रो हुनेलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, १२ वर्षमुनिका, १२ देखि १५ वर्षसम्मका उमेर समूहका साथै ४० वर्ष माथिका भेट्रान धावकहरूका लागि पनि छुट्टै पुरस्कारको व्यवस्था गरिएको छ। ती उमेर समूहका प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला तथा पुरुषलाई क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ प्रदान गरिनेछ।
यसैगरी, ६० वर्ष माथिका धावकहरूलाई विशेष आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। सहभागी सबैलाई टिसर्ट उपलब्ध गराइनेछ भने दौड पूरा गर्ने प्रत्येक धावकलाई प्रमाणपत्र र आकर्षक मेडल प्रदान गरिने आयोजकले जनाएको छ। धरान रनको १३ औँ संस्करणले स्वास्थ्य, खेलकुद प्रवर्द्धन र शिक्षामा योगदान दिने लक्ष्य लिएको छ।
प्रतिक्रिया