इलाम । इलामको रोङ गाउँपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा भयानक दुर्घटना भएको छ । दुर्घटनामा परेर शुक्रबार राति बाबु–छोराको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–३ हाँसपोखरीमा को १ ख ६४६२ नम्बरको टिपरले प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । इलामबाट झापातर्फ आउँदै गरेको टिपरले विपरीत दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक सूर्योदय नगरपालिका–६ खादी गाउँका ४० वर्षीय दीर्घ राई र पछाडि सवार उनका बुवा अन्दाजी ७० वर्षीय पवनकुमार राई मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार साँझ ६ः४० बजेतिर दुर्घटना भएको हो । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए ।
उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा बाबु–छोराको राति ८ः२० बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । दुवै जनाको शव हाल उक्त अस्पतालमै छ । दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक इलामको माईजोगमाई गाउँपालिका–२ शान्ति चोकका अन्दाजी ३० वर्षीय खगेन्द्र थामीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।
प्रहरीका अनु्सार बाक्लो हुस्सु लागेकाले अगाडिको सवारीसाधन नदेखिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।
प्रतिक्रिया