सुनसरीका अन्सारी विराटनगर विमानस्थलबाट अमेरिकी डलरसहित पक्राउ

शनिबार, १० फागुन २०८१
विराटनगर । सुनसरी घर भएका १ जना युवा अवैध रूपमा बोकेको अमेरिकी डलरसहित विराटनगर विमानस्थलबाट पक्राउ परेका छन् । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय नौसाद अन्सारीलाई पक्राउ गरिएको जानकारी दिए । विराटनगर विमानस्थल हुँदै काठमाडौं जान लागेका अन्सारीलाई विराटनगर महानगरपालिका–४ स्थित विमानस्थलबाट शुक्रबार राति ८ बजेतिर पक्राउ गरिएको उनको भनाइ छ । प्रहरीका अनुसार अन्सारी यती एयरलाइन्सको जहाजबाट काठमाडौं जाने तयारीमा थिए । प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) श्याम सुवेदी नेतृत्वको टोलीले चेकजाँच गर्दा अन्सारीले लगाएको कोटको गोजीभित्र अमेरिकी डलर फेला परेको थियो । अवैध रूपमा बोकेको अवस्थामा अमेरिकी डलर (अमेरिकाको रूपैयाँ) फेला परेपछि उनी पक्राउ परेका हुन् । एसपी चिमरियाले अन्सारीको साथबाट १ सय दरका ८१ थान डलर बरामद भएको बताए । त्यसको नेपाली रूपैयाँ ११ लाख १ हजार ९४७  बराबर हुन्छ । अन्सारीले कुन बैंकबाट डलर साटेका हुन् भनेर खुलाउन सकेनन् । स्रोत पनि खुलेन । डलर वा विदेशी मुद्राको कारोबार गर्न बैंकबाट इजाजत लिनुपर्ने कानुनी व्यवस्था छ । कानुनविपरीत साथमा डलर बोकेको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइएको जानकारी चिमरियाले दिए । यति धेरै अमेरिकी डलर बोकेर हिँड्न नेपालमा प्रतिबन्ध रहेको प्रहरीले जनाएको छ । यद्यपि, अन्सारीले विदेशबाट आएका साथीलाई नेपाली रूपैयाँ दिएर आफूले डलर लिएको प्रहरीलाई बताएका छन् । अन्सारीले आफू केही समय अघिसम्म कतारमा बस्ने गरेको बताए । कतारमा बस्ने र नेपाल आउनेजाने गरेको उनको भनाइ छ । उनले मोबाइलमा आफ्नो पासपोर्ट (राहदानी) को फोटो पनि खिचेर राखेका छन् । अहिले भने साथीको आफन्त बिरामी भएर काठमाडौं जान लागेको बताएका छन् । अवैध रूपमा बोकेको डलरसहित पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार