विराटनगर : ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर उत्पन्न तनाव अझै गहिरिँदै गएको छ।
बिहीबार ‘नो केबलकार’ समूहका प्रदर्शनकारीद्वारा गरिएको आक्रमणमा फुङलिङ नगरपालिका–९ निवासी ३५ वर्षीय गाडी चालक राजकुमार पौडेल गम्भीर घाइते भएका छन्। टाउकोमा गहिरो चोट लागेका उनलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि झापाको बीएन्डसी अस्पतालमा रेफर गरिएको छ। मानव अधिकारवादी संस्था इन्सेकले घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेको छ।
पछिल्ला दिनमा ‘नो केबलकार’ समूहको गतिविधि उग्र बन्दै गएको छ। उनीहरूले भौतिक आक्रमण, तोडफोड, सामाजिक सञ्जालको दुरुपयोग, धम्की तथा कालोमोसो दल्ने जस्ता कार्यहरू गरिरहेका छन्। तर, आन्दोलनको नेतृत्व गर्नेहरूले अराजकतालाई नियन्त्रण गर्ने कुनै पहल गरेको देखिँदैन।
इन्सेकले जारी गरेको विज्ञप्तिमा आन्दोलनकारीहरूले अवरोध सिर्जना गर्दै आम नागरिकको आवागमन स्वतन्त्रतामा हस्तक्षेप गरेको बताइएको छ। घटनामा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गर्दै इन्सेकले मानव अधिकारको रक्षा गर्न सबै पक्षलाई आग्रह गरेको छ।
यस घटनाको विरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रा.लि.ले शुक्रबारदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ। व्यवसायीहरूले मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुम हुँदै ताप्लेजुङ प्रवेश गर्ने सबै नाका बन्द गर्ने चेतावनी दिएका छन्। पाथीभरा क्षेत्रमा स्थिति अझै तनावपूर्ण रहेको र प्रहरीले शान्ति सुरक्षाका लागि व्यापक उपस्थिति जनाइसकेको छ।
प्रहरीका अनुसार ‘नो केबलकार’ समूहका झण्डै ३०० समर्थकहरू पाथीभरा क्षेत्रमा छन् भने केबलकार समर्थकहरू करिब १५० जनाको संख्यामा उपस्थित छन्। परिस्थिति नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीमबहादुर दाहाल नेतृत्वको टोली पठाइएको छ। प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार दुवै पक्षसँग समन्वय गरी अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ।
पाथीभरा क्षेत्रमा व्यवसायी चन्द्र ढकालको समूहले केबलकार निर्माण सुरु गरेपछि विरोध प्रदर्शन चर्किएको हो। ३० वर्षअघि नै योजना बनेको भए पनि हाल आएर मात्र यसको कार्यान्वयन सुरु गरिएको हो। केबलकार निर्माणको विरोध गर्दै पहिचानवादी समूहहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्।
‘नो केबलकार’ पक्षधरहरूले केबलकारले धार्मिक आस्था तथा पर्यावरणमा असर पार्ने दाबी गर्दै आएका छन्। स्थानीय तहका जनप्रतिनिधिहरू भने केबलकारले धार्मिक तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास गर्छन्। केबलकार निर्माण पक्षधरहरूले यात्रीहरूको सहज पहुँचका लागि यो आवश्यक रहेको बताउँछन्।
३ अर्ब रुपैयाँको लागतमा निर्माण हुने केबलकार परियोजना २.७५ किलोमिटर लामो हुनेछ। यसमा १३ वटा टावर र ३८ वटा गोन्डोलाज रहने छन्। निर्माण पूरा भएपछि वृद्धवृद्धा र बालबालिकाका लागि निःशुल्क यात्रा व्यवस्था गरिनेछ। वार्षिक ५ लाखभन्दा बढी तीर्थयात्री पाथीभरा पुग्ने अनुमान गरिएको छ, केबलकार बनेपछि यो संख्या दोब्बर हुने विश्वास गरिएको छ।
प्रदेश सरकार, प्रहरी प्रशासन, तथा सम्बन्धित निकायहरूले सबै पक्षलाई संयमित रहन आग्रह गरेका छन्। वार्ता समितिको पहलमा समाधान खोज्ने प्रयास भइरहेको छ।
प्रतिक्रिया