विभागीय टिम त्रिभुवन आर्मी इलाममा जारी महिला गोल्डकपको अन्तिम चारमा

सोमबार, १९ फागुन २०८१
इलाम । विभागीय टोली त्रिभुवन आर्मी इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा पाहुना टोली भारतको मानेभञ्ज्याङलाई ४–० गोलको फराकिलो अन्तरले पछि पार्दै आर्मीले क्वाटर फाइनलको यात्रा तय गरेको हो । पहिलो संस्करणको विजेतासमेत रहेको मानेभञ्ज्याङ दोस्रो संस्करणमा क्वाटरफाइअनलबाटै बाहिरिएको हो । पहिलो हाफको थप गरिएको समयमा चन्द्रा भण्डारीको क्रस पासलाई विमला चौधरीले उत्कृष्ट गोल गर्दै आर्मीले सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफमा आर्मीले तीन गोल थप्यो । दोस्रो हाफको २६ औ मिनेटमा वान भर्सेस वानको अवसरलाई सदुपयोग गर्दै राष्ट्रिय टिमकी स्ट्राइकर तथा आर्मीकी चन्द्रा भण्डारीले गोल गर्दै अग्रतालाई दोब्बर पारिन । दोस्रो गोल गरेको २ मिनेट नबित्दै आर्मीकै सुमित्र योन्जनले डि बक्स एरियाबाट गरेको प्रहारले जाली चुम्यो र अग्रतालाई झनै फराकिलो बनायो । दोस्रो हाफमै पुन चन्द्रा भण्डारीले थप गोल गर्दै ४–० को अग्रता बनाउँदै सेमिफाइनलमा आर्मी सुरक्षित भएको हो । खेलको वुमन अफ दि म्याच आर्मीकी चन्द्रा भण्डारी घोषित बनिन उनले नगद ५ हजार सहित ट्रफी प्राप्त गरिन । ओएसिस क्लब इलामको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको दोस्रो संस्करण गत फागुन १७ बाट सुरु भएको हो । मङ्गलवार (भोलि) विभागीय टोली एपिएफ र भारतको पाहुना टोली मदर टेरेसा बिच खेल हुने आयोजकले जनाएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार