बजेट अभावले रोकिएको हिमाल सफाइ अभियानलाई निरन्तरता दिइने

सोमबार, १९ फागुन २०८१
काठमाडौँ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमाल सरसफाइ अभियानलाई निरन्तरता दिइने बताएकाछन् । बजेट अभावले रोकिएको अभियानलाई निरन्तरता दिई जलवायु परिवर्तन न्यूनीकरणमा जोड दिने उनको भनाई छ । मन्त्री शाही र प्रधान सेनापति अशोकराज सिग्देलबीच सोमबार मन्त्रालयमा भएको भेटमा उनले हिमाल सरसफाइको अभियानलाई निरन्तरता दिन आग्रह गर्दै मन्त्रालयका तर्फबाट आवश्यक सहयोगका लागि तयार रहेको बताए । हिमाली क्षेत्रमा पर्वतारोहीहरूले छोडेको फोहोर सफाइ गरी वातावरणीय प्रदूषण न्यूनीकरण, हिमालको पवित्रता जोगाउने उद्देश्यका साथ नेपाली सेनाको अगुवाइमा सुरु भएको यो अभियानमा बजेटको कमीले समस्या उत्पन्न भएको थियो । मन्त्री शाहीले बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्दै अभियानलाई निरन्तरता दिन आग्रह गरेका छन् । नेपालमा सगरमाथा, ल्होत्से, अन्नपुर्णलगायत आठ हजार मिटरभन्दा अग्ला हिमालहरू सरसफाइ गरी स्वच्छ राख्न सके हिमाल आरोहण गर्ने पर्वतारोहीसमेत बढ्ने मन्त्री शाहीको भनाई छ । प्रकृति र पर्यावरणको प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रमलाई कार्यन्वयन गर्दै जाँदा बजेट अभावले समस्या उत्पन्न भएको नेपाली सेनाले जनाएको छ । प्रधान सेनापति अशोकराज सिग्देलले बजेट व्यवस्थापन भए यो अभियानलाई विशेष महत्वका साथ अगाडि बढाउन सेना तयार रहेको बताए । वन सचिव डा दीपककुमार खरालले वन तथा निकुञ्जको संरक्षणका निम्ति वन मन्त्रालयले नेपाली सेनालाई सक्दो सहयोग गर्ने बताए । नेपालका १२ राष्ट्रिय निकुञ्ज र एक आरक्षमा नेपाली सेनाले संरक्षणको काम गरिरहेको छ । निकुञ्ज विभागमा महानिर्र्देशक डा.रामचन्द्र कँडेलले जैविक विविधता, वन्यजन्तु संरक्षणका लागि नेपाली सेनासँग समन्वय र सहकार्यका लागि आफूहरू तयार रहेको बताए ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार