विराट गोल्डकप : आयोजकसँग कोलकाता स्तब्ध

सोमबार, १९ फागुन २०८१
विराटनगर : विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङ रिजालको एफए विजयी भएको छ । विराटनगरमा सोमबारदेखि सुरू भएको गोल्डकपको पहिलो खेलमा पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै मोरङ क्वार्टरफाइनलमा प्रवेश गरेको हो । विराटनगरको सहिद रंगशालामा सोमबार राति सम्पन्न खेलमा पाहुना टोलीमाथि आयोजकले संघर्षपूर्ण जित निकालेको छ । आयोजक रिजालको मोरङ एफएलाई अभिषेक गुरुङले १० मिनेटमा अग्रता दिलाएका थिए । साउथन समिति कोलकाताले १३ मिनेटमा बराबरी गोल फर्कायो । कोलकाताका सुदीप्ता हाल्देनले फ्रिकिकमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । खेलको ३४ मिनेटमा कोलकाताले अग्रता बनायो । कोलकाताका अनिमेषले हेडमार्फत गोल गर्दा खेल २–१ को अवस्थामा पुग्यो । ४६ औं मिनेटमा पेनाल्टीलाई सदुपयोग गर्दै दोर्जे तामाङले गोल गरेपछि पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको थियो । खेलको ८९ औँ मिनेटमा मोरङका मौसम लिम्बूले गोल गर्दै टिमको जित निश्चित गरेका हुन् । जितसँगै आयोजक मोरङ प्रतियोगिताको क्वार्टरफाइलनमा प्रवेश गरेको छ । खेलको म्यान अफ दि म्याच मोरङका मौसम लिम्बू घोषित भए । मंगलबार सुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार