एमाले मोरङको नेतृत्व छान्न आठ सय ८८ जनाले गरे मतदान, मतगणना बिहीबार मात्रै

बुधबार, २१ फागुन २०८१
विराटनगर : नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको छ । निर्वाचनमा ९७ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत डिल्लीराम घिमिरेले जानकारी दिए । अधिवेशनमा नौ सय ११ जना प्रतिनिधि भएपनि आठ सय ८८ जनाले मतदान गरेका छन् । २३ जना अनुपस्थित रहेको घिमिरेले जानकारी दिए । नयाँ नेतृत्व चयनका लागि अधिवेशनस्थल विराटनगरस्थित होटल मनास्लु इनमा मतदान भएपनि मतगणना पार्टी कार्यालय विराटनगर पाञ्चालीबाट बिहीबार बिहानदेखि गरिने निर्वाचन अधिकृत घिमिरेले बताए । अधिवेशनमा दुई समूहवीच प्यानलगत प्रतिस्पर्धा छ । संस्थापन अर्थात् पार्टी अध्यक्ष केपी शर्मा अ‍ोली समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा र उपसचिवद्वयमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी चुनावी मैदानमा छन् । इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा तथा उपसचिवद्वयमा सन्तोष बान्तवा र उषा झा (ठाकुर)प्रतिष्पर्धामा छन् । अधिवेशनमा तीन सय २५ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये ७१ जना निर्विरोध निर्वाचित भए भने ६३ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । शनिबारदेखि जारी अधिवेशनले पाँच पदाधिकारीसहित एक सय ६५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार