उर्लाबारीका इन्स्पेक्टर परिवर्तन : राकेश यादव गणमा तानिए, रन्जन बराललाई पठाइयो

विहीबार, २२ फागुन २०८१
विराटनगर । कार्यसम्पादन क्षमता कमजोर भएको भन्दै मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीमा इन्स्पेक्टर (प्रहरी निरीक्षक) राकेश यादवलाई जिम्मेवारीबाट हटाइएको छ । कार्यसम्पादन क्षमता कमजोर हुनुका साथै शान्ति सुरक्षाको अवस्था मजवुत बनाउनका लागि भूमिका खेल्न नसकेको भनेर इन्स्पेक्टर यादवलाई बुधबार साँझ कोशी प्रदेश प्रहरी गण रानी तानिएको हो । यादवलाई हटाएर उनको ठाउँमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत इन्स्पेक्टर रन्जन बराललाई पठाइएको छ । उर्लाबारी प्रहरी प्रमुखको जिम्मेवारी पाएका बराल बुधबार साँझ नै हाजिर भइसकेका छन् । उर्लाबारीमा इन्स्पेक्टर इन्चार्ज हुन्छन् । प्रहरी स्रोतका अनुसार यादवले कुनै बदमासी वा लापरबाही गरेका हैनन् । तर, पछिल्लो समय उर्लाबारी प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षामा प्रभावकारी भूमिका खेल्न नसकेको जनगुनासो बढेको थियो । उर्लाबारी १ महिनायता चोरीका घटना बढेका छन् । उर्लाबारी नगरपालिका–४ आइतबारेमा रहेको न्यू पाथीभरा ज्वेलर्समा फागुन १८ गते राति चोरी भएको थियो । रमेश विकले सञ्चालन गरेको सुनचाँदी पसलबाट २५ किलो चाँदीका गहना, २ तोला सुनको तिलहरी र १५ हजार रूपैयाँ नगद चोरी भएको थियो । त्यस्तै, गत माघ २१ गते बिहानका राति प्रहरी कार्यालयनजिकै रहेको मोबाइल पसलमा चोरी भयो । उर्लाबारी–५ मा योगराज कार्कीले सञ्चालन गरेको मोबाइल वल्र्ड नामक पसलबाट ३ करोड रूपैयाँभन्दा बढीको मोबाइल चोरी भएको प्रहरीले जनाएको छ । मोबाइल पसल नै खाली गरेर चोरी गरिएको उक्त घटनामा संलग्न हालसम्म पक्राउ परेका छैनन् । खोजी जारी राखिएको प्रहरीले जनाएको छ । मोबाइल चोरीमा भारतीय नागरिक संलग्न रहेको हुनसक्ने प्रहरीको अनुमान छ । पसलबाट ४ सय ५० वटाभन्दा बढी मोबाइल चोरी भएको प्रहरीको भनाइ छ । पछिल्लो समय चोरीका घटना बढेसँगै उर्लाबारी प्रहरीको भूमिका प्रश्न उठिरहेको छ । यद्यपि, मोबाइल पसलमा चोरी भएका बेला इन्स्पेक्टर यादव बिदामा थिए । सई चूडामणि पौडेल निमित्त प्रमुखको जिम्मेवारीमा थिए । सई पौडेलको भूमिका पनि विवादास्पद छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले उर्लाबारीको इन्चार्ज केही समयका लागि परिवर्तन गरिएको जानकारी दिए । तत्कालको आवश्यकतालाई हेरेर इन्चार्ज परिवर्तन गरिएको उनको भनाइ छ । कुनै कमजोरी वा बदमासी गरेर नतानिएकाले कारबाहीको कुरा नरहेको अधिकारीले बताए । ‘तत्कालको आवश्यकतालाई हेरेर उर्लाबारीमा इन्चार्ज परिवर्तन गरिएको हो । अरु त्यस्तो केही छैन,’ डीआईजी अधिकारी भन्छन् । इन्स्पेक्टर यादव गत भदौ २८ गते उर्लाबारी हाजिर भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार