बुवाले गर्दै आएको व्यवसाय आँफूले पूरा समय दिएर गर्दै आएपनि अहिले अत्यन्त असहज अवस्थाका कारण छाड्नु परेको उनको भनाइ छ । व्यापार नभएकै कारण आाफू ‘डिप्रेशन’बाट ग्रसित जस्तै भएको उनी बताउँछन् ।
दसैँसम्म विचार गर्ने अनि सुधारको अवस्था आएन भने पसल बेचेर रोजगारीका लागि विदेश जाने उनले बताए ।
तीन तल्लामा सञ्चालन गर्दै आएको फेन्सी पसल अहिले दुई तल्लामा सीमित बनेको छ । तैपनि ग्राहकको उपस्थिति पहिलेजस्तो छैन । फाट्टफुट्ट मात्र आउने ग्राहकलाई सामान बिक्री गरेर पसल चलाउन सक्ने अवस्था छैन ।
‘घर भाडा पनि अत्यधिक महंगो छ, स्टाफ खर्च र बैंकको ब्याज जोड्दा त अहिलेको व्यापारले ३० प्रतिशत पनि धान्न सक्ने अवस्था छैन’ उनले भने ।
यस्तो दुरवस्था वसिम एक्लैले भोगिरहेका छैनन् । उनी त एक पात्र मात्रै हुन् । उनीजस्ता दर्जनौँ व्यापारीहरू अहिले उनले भोगेजस्तै पीडाबाट ग्रसित छन् ।
इटहरीस्थित मुख्य चोकमा मासिक सवा लाखभन्दा बढी भाडा तिरेर फेन्सी पसल गर्दै आएका रोशन पोद्दारले एक महिनाअघि पसल छाडे । व्यस्त बजारमा रहेको उनको व्यवसाय निकै फस्टाएको थियो ।
८ महिनायता उनले पसलको भाडा त के कर्मचारीको तलब समेत दिन सकेनन् । केही सीप नलागेपछि उनले त्यहाँको पसल छाडेपनि गरिआएको व्यवसाय चटक्कै छाड्न सकेनन् । आरसिटी मार्केटमा मासिक २० हजार रुपैयाँ तिर्नेगरी व्यवसाय त्यतै सारे ।
‘पहिलाको दिन सम्झेर मात्रै कहाँ हुने रहेछ र ?’ रोशन कहिलेकाहीँ आफैलाई प्रश्न गर्छन्, ‘अहिले त व्यवसाय गरेर बिहान बेलुकाको छाक टार्न समेत गाह्रो भएको छ ।’
व्यापार राम्ररी चलेको समयमा १५ जनासम्म कर्मचारीले काम गरेपनि अहिले कर्मचारी कटौती गरेर आफैँले मात्रै व्यवसाय धौ–धौ हुँदै धानिराखेको उनले बताए ।
वर्तमान अवस्थामा आर्थिक मन्दीका कारण व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । पहिलेको अवस्थामा समस्या पर्दा अरु व्यवसायीले सरसापट दिएर भरथेग गरेपनि अहिले भने अवस्था फेरिएको उनी सुनाउँछन् ।
संगीत चोकमै व्यवसाय गर्दै आएका सन्तोष बस्नेतले पनि अहिलेको अवस्थाले गर्दा व्यापार नभएर घरबार बिग्रने अवस्था आइसकेको बताए । ‘न बैंकले थप ऋण दिन्छ न त भएको ऋण तिर्न सक्ने गरी व्यापार हुन्छ’ उनले भने, ‘कसरी चल्छ जीवन, निकै गाह्रो भइसक्यो ।’
इटहरीमै मोबाइल र अरु विद्युतीय सामाग्री बिक्री गर्दे आएका इमार्टका प्रबन्ध निर्देशक सुमित अधिकारीको पनि अवस्था उस्तै छ ।
‘खर्च बढेको बढ्यै, कारोबार घटेको घट्यै’ उनले भने, ‘बैंकको ब्याज बढिरहेकै हुन्छ, व्यापार गर्न निकै समस्या छ ।’
बैंकको ब्याजलाई समायोजन गर्ने कुरामा सम्बन्धित निकायले तत्परता देखाउनु पर्ने उनको भनाइ छ ।
विकास मोबाइल हाउसका सञ्चालक विकास कार्कीले इटहरीमा देखिएको पार्किङको समस्या र आर्थिक मन्दीका कारण निकै कठिनाइ भएको बताउँछन् । बजारका मुख्य ठाउँहरूमा पार्किङ गर्न नदिइने गरेकाले ग्राहकहरूको सहज आवागमन नहुँदा समस्या परेको अधिकांश व्यवसायीहरूको गुनासो छ ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले इटहरीको व्यवसायलाई चलायमान बनाउनका लागि इटहरी उपमहानगरमा व्यवस्थित पार्किङको व्यवस्था गर्न लागेको बताए । इटहरीको पार्किङ अस्तव्यस्त भएकाले व्यापार व्यवसाय धरासायी हुने अवस्थामा पुगेको उनको बुझाइ छ ।
स्थानीय सरकारले पार्किङका सवालमा चासो नदिएको उनको आरोप छ । ‘निजी क्षेत्र पलायन हुँदै गर्दा नगरले चासो दिदैँन भने इटहरीको भविष्य अन्यौलग्रस्त हुन्छ’ उनले थपे, ‘नगरले निजी क्षेत्रलाई बेवास्ता गरेर अगाडि बढ्ने क्रममा कर मात्र लाद्न खोजेको छ ।’
व्यापार, व्यवसाय क्षेत्रका लागि स्थानीय सरकार सहयोगी बन्न नसकेको व्यवसायीहरूको गुनासो छ ।
उपभोक्ताको चहलपहल बढेको अवस्थामा मात्र नगर समग्रमा नगरजस्तो हुने, आर्थिक गतिविधि चलायमान हुने अनि यसले अन्ततः नगरलाई नै फाइदा हुने भएपनि यस कुरामा गम्भीरता नदेखाइएको पराजुली बताउँछन् ।
केही समययता भने बैंकको चर्को ब्याज, सरकारको नीतिगत कडाइ र आर्थिक क्षेत्र सहयोगी व्यवहार नहुँदा यो क्षेत्र धराशयी हुने भन्दै देशभरिका उद्योगी–व्यापारीले आन्दोलन गर्दै आएका छन् ।
उद्योग वाणिज्य महासंघअन्तर्गतका संघहरूले विराटनगर, झापा, वीरगञ्ज, नेपालगञ्जलगायतका सहरहरूमा पटक–पटक प्रदर्शन गरेर सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
केही साताअघि देशभरिका उद्योगी व्यवसायी भेला भएर काठमाडौंको माइतीघरमा प्रदर्शन समेत गरेका थिए ।
उनीहरुले राष्ट्र बैंकको मुख्यालय अगाडि धर्ना दिंदै समस्या समाधानका लागि ध्यानाकर्षण समेत गराएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले समस्या समाधानको पहल गर्ने आश्वासन दिएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिएको थियो ।
समस्या समाधानमा चासो नदेखिए फेरि पनि आन्दोलन गर्ने सोचमा उद्योगी–व्यवसायी छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउत उद्योग खोलेर सञ्चालन गर्न एवं व्यवसाय सहज रूपमा सञ्चालन गर्न अनुकूल अवस्था नरहेको बताउँछन् ।
केही दिनअघि विराटनगरमा आयोजित कार्यक्रममा उनले व्यापार व्यवसायलाई सहज रूपमा सञ्चालन गर्ने अवस्था बनाउन राज्यले गम्भीर भएर ध्यान दिनुपर्ने बताए । व्यवसायीहरू पलायन हुनु, आर्थिक क्षेत्र चलायमान हुन नसक्नु जस्ता कुराहरूमा राज्य र मातहतका निकायले ध्यान दिन ढिलो भइरहेको भन्दै राउतले निरन्तर बेवास्ता भइरहे विकराल अवस्था आउने बताए ।
इटहरीकै हकमा भने उद्योग वाणिज्य संघमै दर्ता भएर चार हजार आठ सय १० व्यवसाय सञ्चालनमा छन् । ती बाहेक अन्य दर्जनौँ व्यवसाय भने उवासंघमा दर्ता नै नभइ पनि सञ्चालनमा छन् । तर, विभिन्न व्यवसायको आकार पछिल्लो समय खुम्चिदैँ जाँदा व्यवसायीहरू यस क्षेत्रबाटै पलायन हुने अवस्थामा पुगेका छन् । यसका लागि सरकारी संयन्त्रसँगै उवासंघले पनि चासो दिन आवश्यक देखिएको व्यापारीहरू बताउँछन् ।
तस्बिरः गुरु ढकाल/रोनिश राउत
प्रतिक्रिया