आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

विहीबार, २२ फागुन २०८१
महोत्तरी : आइएमई ग्रुपले २ अर्ब रुपैयाँको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रीज कागज उद्योग सञ्चालनमा ल्याएको छ। यो उद्योग नेपालको कागज उद्योगको क्षेत्रको लागि एक महत्वपूर्ण कदम मानिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार यस उद्योगको औपचारिक उद्घाटन गर्दै ताम्रपत्र अनावरण गरे। उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले उद्योगमा उत्पादित कागजको गुणस्तर र वातावरण मैत्री उत्पादन प्रक्रिया पनि अवलोकन गरे। नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रीजको उद्देश्य स्थानीय स्तरमा कागज उत्पादन गर्न सुरु गरेर देशमा कागजको आयातमा निर्भरता कम गर्नु हो। यो उद्योगले दैनिक ७५ मेट्रिक टन लेखन र छपाईका लागि उपयुक्त कागज उत्पादन गर्ने लक्ष्य राखेको छ। पहिलो चरणमा उद्योगले फोटोकपी पेपर र कापी किताबका लागि कागज उत्पादन सुरु गरेको छ । उद्योगका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन समारोहमा सम्बोधन गर्दै भने, "यो उद्योगको सञ्चालन आइएमई ग्रुपको औपचारिक प्रवेश मात्र होइन, नेपालको औद्योगिक क्षेत्रमा नयाँ जागरणको संकेत हो।" ढकालले कागज उद्योगको सुरुवातलाई मुलुकको आत्मनिर्भरता र आर्थिक विकासका लागि महत्वपूर्ण कदमको रूपमा हेरिएको बताए । य ढकालले भने, "आइएमई ग्रुपले नयाँ उद्योगहरूको सुरुआत गर्दै हाम्रा युवाहरूलाई खाडी देशको ५० डिग्री तातोमा काम गर्न जान बाध्य बनाउनुभन्दा यहाँ स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्न चाहन्छ।" यस उद्योगले स्थानिय युवाहरू, महिला र कृषकहरूलाई रोजगारीको अवसर प्रदान गर्नेछ। उद्योगले प्रत्यक्ष रूपमा ३०० भन्दा बढी रोजगार सिर्जना गर्नेछ भने अप्रत्यक्ष रूपमा हजारौं रोजगारका अवसरहरू पनि प्रदान गर्ने बताईएको छ । ढकालले नेपालका सरकारी निकायलाई पनि स्वदेशी उत्पादनको प्रयोग गर्न प्रोत्साहित गर्दै भने, "अब नेपालमा उत्पादन भएको कागजलाई जनक शिक्षा सामग्री केन्द्र जस्ता संस्थाले प्रयोग गर्न सक्छ। यो उद्योगको उद्घाटनले नेपालको औद्योगिक क्षेत्रको समृद्धिका लागि महत्वपूर्ण पाइला सावित हुनेछ। यसले राष्ट्रिय आर्थिक वृद्धि र दीगो विकासको दिशामा ठूलो योगदान पुर्याउनेछ।" उनले स्वदेशी उद्योगको प्रवद्र्धनमा निजी क्षेत्रको सक्रिय योगदानको महत्त्वमा जोड दिए र सरकारको नीति र कानूनी सुधारले लगानीको वातावरण सिर्जना गरेको विश्वास व्यक्त गरे। अध्यक्ष ढकालले उद्योग सञ्चालन गर्दा सामना गरिएका केही चुनौतीहरूका बारेमा पनि कुरा गर्दै भने, "नेपालमा उद्योग सञ्चालनका लागि पछिल्लो समय धेरै अवरोधहरू देखिएका छन्, जसले भविष्यमा लगानीकर्ताहरूलाई प्रभावित गर्न सक्छ। विशेष गरी पाथिभरा केबलकार निर्माण परियोजनामा देखिएका समस्याहरूले लगानीको वातावरणलाई नकारात्मक रूपमा प्रभावित गरेको छ।" ढकालले आफ्नो समूहको व्यावसायिक प्राथमिकतामा राष्ट्रको आर्थिक विकास र नागरिकहरूको प्रत्यक्ष फाइदामा आधारित लगानी गर्ने उदेश्य रहेको स्पष्ट पारे।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार