इटहरी : आन्तरिक राजश्व कार्यालय इटहरीले आफ्नो कार्यक्षेत्रभित्र रहेका ५ लाख रुपैयाँभन्दा बढी कर नतिर्नेको नाम सार्वजनिक गरेको छ । समयमा कर नबुझाउनेहरूको नाम सार्वजनिक गरिएको हो ।
राजस्व कार्यालयले व्यवसायी र व्यापारिक फार्म गरेर ३६ वटा नाम सार्वजनिक गर्दै उनीहरूलाई अन्तिम ताकेता गरेको छ । १५ दिने अल्टिमेटमसहित ताकेता गरिएको हो । तोकिएको समयमा कर नतिरेमा राजस्व प्रशासनले पहिलो चरणमा बैंक खाता रोक्का गर्ने भएको छ ।
त्यसपछि पनि कर नतिरेमा सम्पत्ति (जायजेथा) र अन्ततः पासपोर्टसमेत रोक्का गरिने कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कर अधिकृत लभकुमार अधिकारीले भने, ‘हामी प्रक्रियागत ढङ्गले अगाडि बढिरहेका छौँ । कर तिर्न बारम्बार ताकेता गरिसकेका छौँ । अब १५ दिनभित्र नतिरेमा बैंक खाता रोक्का हुन्छ । त्यसपछि सम्पत्ति र अन्त्यमा पासपोर्टसमेत रोक्का गरिने छ ।’
उनका अनुसार कर नतिर्नेमध्ये केहीले विगतदेखि नै सरकारको पटक पटकको ताकेता बेवास्ता गरिरहेका छन् । अब भने राज्यको कानुन अनुसार सम्पत्ति रोक्का गरेर कर असुल गर्ने दायित्व पूरा गरिने अधिकारीले बताए ।
आन्तरिक राजश्व कार्यालय इटहरीको कार्यक्षेत्रमा इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, दुहवी नगरपालिका, रामधुनी नगरपालिकाका साथै देवानगञ्ज, कोशी, गढी, बर्जु, भोक्राहा–नरसिंह र हरिनगरा गाउँपालिका हो । ती सबै क्षेत्रमा रहेका करदातालाई कार्यालयले कर तिर्न पटक–पटक ताकेता गरिसकेको छ ।
सार्वजनिक हित र कर प्रणालीको पारदर्शिताका लागि राजश्व कार्यालयले कडा कदम चाल्न लागेको जानकारी अधिकारीले दिए । प्रदेश खबरसँग उनले भने, ‘लापरबाही गर्ने र कर नतिर्ने विरुद्ध अझै कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्छ । समयमा कर तिरेर सभ्य नागरिकको परिचय दिन हामी अनुरोध गर्छौँ ।’
कर बुझाउन पटक पटक गरिएको ताकेतामा करदाताले बेवास्ता गरेपछि कार्यालयले अन्तिम चेतावनी दिएको अधिकारी बताउँछन् । राजस्व प्रशासन ऐनअनुसार करदाताले समयमै कर दाखिला नगरेमा राजस्व कार्यालयले नाम सार्वजनिक गर्न, सम्पत्ति रोक्का गर्न तथा विदेश यात्रामा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ ।
ऐनले दिएको अधिकार प्रयोग गर्दै इटहरीस्थित राजस्व कार्यालयले सार्वजनिक रूपमै ३६ व्यापारीको नाम बाहिर ल्याएको हो । कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कर नतिर्नेमा चर्चित एवं प्रतिष्ठित व्यापारिक फार्म र व्यवसायीहरू रहेका छन् ।
यी हुन् कर नतिर्ने ३६ व्यापारी र कम्पनीहरू
१, कृष्ण साह (कानु) – विश्वकर्मा ट्रेडर्स एण्ड सप्लायर्स, इटहरी
२, सम्राट श्रेष्ठ – माँ देवी इन्टरप्राइज प्रा.लि., इटहरी
३, राजकिशोर प्रसाद यादव – जय शक्ति सप्लायर्स, इटहरी
४, रमेश आचार्य – आशिष ट्रेडर्स, इटहरी
५, रामप्रसाद ओली – एस गार्मेन्ट्स प्रा.लि., इटहरी
६, युवराज आचार्य – न्यू मनकामना ट्रेडर्स एण्ड सप्लायर्स, इटहरी
७, भीमबहादुर पौडेल – पाथिभरा फुड एण्ड बेभरेज इण्डष्ट्रिज प्रा.लि., इटहरी
८, हेमन्तीदेवी चौधरी – विशाल स्टील ईन्टरप्राइजेज, इटहरी
९, शेषराज तिम्सीना – सिमरवना बचत तथा ऋण सहकारी संस्था लि., इटहरी
१०, सविता दाहाल – बीएचटी आइरन डिपो प्रा.लि., इटहरी
११, मीनु अग्रवाल – रचना प्लाष्टिक उद्योग, दुहबी
१२, संयोग पराजुली – रोयल अटो वल्र्ड प्रा.लि., इटहरी
१३, किरण पराजुली – पाथिभरा अटो लिंक प्रा.लि., इटहरी
१४, अशोककुमार अग्रवाल – पशुपति आधुनिक चामल मिल, कोशी सप्लायर्स, इटहरी
१५, राहुल मण्डल – माउन्टेन बिजनेस ट्रेडिङ्ग प्रा.लि., इटहरी
१६, राजेन्द्रप्रसाद साह – पूर्वाञ्चल डिष्टिलरी प्रा.लि., दुहबी
१७, लीलुप्रसाद पौडेल – रामधुनी कन्स्ट्रक्सन, रामधुनी
१८, तीर्थराज खड्का – पूर्वाञ्चल ढुवानी सेवा, इटहरी
१९, आयुश बस्नेत – प्रभु वायर इण्डष्ट्रिज प्रा.लि., इनरुवा
२०, रघुनन्दन चौधरी – कृष्ण कन्स्ट्रक्सन एण्ड सप्लायर्स, गढी
२१, सुवास थापा – अटो इलेक्ट्रिक पाट्र्स इण्डष्ट्रिज, इटहरी
२२, बलराम पण्डित – गोविन्द इँटा उद्योग प्रा.लि., गढी
२३, जवाहरलाल चौधरी – जेएल कोल्ड, दुहबी
२४, अर्जुनकुमार बाराकोटी – मञ्जरी पेन्ट्स प्रा.लि., इटहरी
२५, हेमचन्द्र पौडेल – म्याक्स टिभी नेटवर्क प्रा.लि., इटहरी
२६, राजेन्द्रप्रसाद यादव – सगरमाथा इट्टा उद्योग प्रा.लि., गढी
२७, सुवास अधिकारी – न्यू पञ्चकन्या मार्केटिङ, इटहरी
२८, सुमन कोइराला – क्लोथ ट्रेडर्स एण्ड सप्लायर्स, इटहरी
२९, प्यारचन्द्र चौधरी – श्री सिद्धि विनायक ट्रेडर्स, दुहबी
३०, केशवकुमार विष्ट – मिनीम्याक्स अफसेट प्रेस, इटहरी
३१, दिपेशकुमार चौधरी – एभरेष्ट अडर सप्लायर्स, रामधुनी
३२, रामकुमार साह – कञ्चनजंघा प्रोडक्ट, इटहरी
३३, प्रदीपकुमार पोखरेल – इनरुवा केवल नेटवर्क प्रा.लि., इनरुवा
३४, खेमराज खड्का – राम रोहित भोनिर्स प्रा.लि., इनरुवा
३५, मुन्नाकुमार झा – हरे रामा इँटा उद्योग प्रा.लि., बर्जु
३६, टीजीएफ कन्स्ट्रक्सन, इटहरी–५
प्रतिक्रिया