ओखलढुङ्गा : ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार चट्याङले ६ वर्षको अवधिमा १२ जनाको ज्यान गएको हो ।
आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ सम्मको तथ्याङ्कअनुसार चट्याङ लागेर १२ जना मृत्यु र २४ जना घाइते भएका छन् । यस अवधिमा लाखौँको क्षति भएको तथ्याङ्क छ ।
पछिल्लो दुई वर्षमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । १० जनामा घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
चालु आवको साउनदेखि चैत मसान्तसम्म चट्याङका कारण तीन जना मानिस घाइते भएका छन् । यस अवधिमा १० वटा चौपायाको मृत्यु भएको छ । विभिन्न विद्युतीय उपकरणमा समेत क्षति भएको छ । गत आव २०८०/८१ मा ६ स्थानमा चट्याङ पर्दा दुई जनाको मृत्यु र सात जना घाइते भएका थिए ।
यस्तै तीन घर प्रभावित भएका थिए भने पाँच वटा चौपायाको मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कमा उल्लेख छ । अन्य विपद्मा जस्तो चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि जिल्लाका स्थानीय तह र सरोकारवाला निकायले त्यति ध्यान दिएको देखिँदैन ।
चट्याङबाट बच्ने उपायबारे नागरिकमा आवश्यक ज्ञान नहुनु र चट्याङ रोकथामका लागि ‘अर्थिङ’ गर्ने लगायतका विधि अपनाउने गरिए पनि जिल्लामा यसको अभ्यास छैन । जिल्लामा सञ्चालित एफएम रेडियो र विद्युतीय उपकरण सञ्चालन गर्ने निकायहरूले बर्सेनि चट्याङबाट लाखौँको क्षति व्यहोर्दै आएका छन् ।
प्रतिक्रिया