आउँदो चैत्रसम्म एसियन हाइवेको कालोपत्रे सकिने : यसकारण इटहरीमा भने नबन्ने

मंगलबार, १६ बैशाख २०८२

इटहरी : कोसी प्रदेशमा निर्माणाधीन एसियन हाइवे परियोजनाको करिब २५ प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म ९६.७६० किलोमिटर लामो सडक खण्डको काम तीव्र गतिमा भइरहेको हो । 

३४ अर्ब ९० करोड रुपैयाँ लागतको यो परियोजनामा एसियन विकास बैंकको ८४.१ प्रतिशत र नेपाल सरकारको १५.९ प्रतिशत लगानी रहेको छ । परियोजना सन् २०२७ फेब्रुअरी १ भित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको छ । जसको सुरुवात  सन् २०२४ फेब्रुअरी १ बाट गरिएको हो । 

परियोजनाको पश्चिम खण्डका प्रमुख जगत प्रजापतिका अनुसार, चालु आर्थिक वर्ष भित्र कम्तीमा १० किलोमिटर सडकको कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उनले भने, “हाल एकतर्फी एक लेयर कालोपत्रे गर्ने योजना छ । साथै, सबै पुलहरूको फाउन्डेसन सक्ने र दुई वटा पुलका स्ल्याब निर्माण कार्य सम्पन्न गर्ने हाम्रो लक्ष्य हो ।“

उनका अनुसार, वर्षाको समयसमेत काम नरोक्ने गरी तयारी गरिएको छ । निर्माणको क्रममा आवश्यक ठाउँमा गरिएको डाइभर्सनहरू व्यवस्थित गरेर सवारी आवागमन सहज बनाउने योजना बनाइएको छ । डाइभर्सन गरिएको ठाउँहरू बन्द गरेर मुख्य सडकबाटै सवारी साधनलाई सहज सञ्चालन गरिने वातावरण तयार पार्ने प्रजापतिको भनाइ छ । 

निर्माण व्यवसायीहरू पनि आगामी चैत्रसम्म इटहरीसम्म कालोपत्रे कार्य सकिने दाबी गर्दै आएका छन् । दमक र इटहरी क्षेत्रमा केही सडक सम्बन्धी विवादका कारण काममा केही ढिलाइ भए पनि अन्य क्षेत्रहरूमा समयमै काम सम्पन्न हुने बताइएको उनीहरूको दाबी रहेको छ । 

परियोजनाको व्यवस्थापन

परियोजना दुई खण्डमा विभाजन गरी सञ्चालन भइरहेको छ । काँकडभिट्टादेखि सीतापुरसम्मको पूर्वी खण्डको जिम्मेवारी दमकस्थित कार्यालयको छ भने, सीतापुरदेखि इटहरी पश्चिम पचरुखीसम्मको पश्चिमी खण्डको जिम्मेवारी इटहरीस्थित कार्यालयले लिएको छ ।

सडक निर्माणको जिम्मा कालिका कन्स्ट्रक्सन र तुङ्गी कन्स्ट्रक्सनसँगै चिनियाँ निर्माण कम्पनीहरूले लिएका छन् । तीन वर्षमा निर्माण सम्पन्न गर्ने उद्देश्यसहित ठेक्का सम्झौता गरिएको छ ।

एसियाली कनेक्टिभिटीमा महत्त्वपूर्ण योगदान

भारतको पश्चिम बङ्गाल राज्यबाट नेपालको काँकडभिट्टा नाका हुँदै प्रवेश गर्ने एसियन हाइवेले नेपाललाई भारत, बङ्गलादेश, म्यानमार र थाइल्यान्डसँग जोड्नेछ । यसले नेपालको व्यापारिक पहुँच अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने विश्वास गरिएको छ ।

पूर्वपश्चिम राजमार्गसँग एकीकृत भएर निर्माण भइरहेको यो सडकले नेपालकै पूर्व–पश्चिम यातायात सञ्जाललाई समेत थप मजबुत बनाउनेछ । 

 इटहरी क्षेत्रमा समस्या

परियोजनाको इटहरी क्षेत्रमा भने निर्माण कार्य ढिलाइ भएको देखिएको छ । इटहरी क्षेत्रमा नक्साअनुसार ओभर पास निर्माण गर्ने योजना रहेको र त्यसका लागि आवश्यक जमिन व्यवस्थापन तथा संरचना भत्काउनुपर्ने भएकाले विवाद उत्पन्न भएको हो ।

हाल इटहरी क्षेत्रमा रुख काट्ने र नाप जाँचको काम बाहेक अन्य निर्माण कार्य ठप्प छ । परियोजना स्रोतका अनुसार, इटहरीमा केही घर भत्काउनु पर्ने अवस्था आएकाले स्थानीय बासिन्दाहरूबाट विरोध भएको छ । साथै, इटहरी नगरपालिकाका मेयर हेमकर्ण पौडेलले समस्या समाधानका लागि अपेक्षित सहयोग नगरेको आरोपसमेत लागेको छ ।

आयोजना स्रोत भन्छ,“समस्या समाधानका लागि पटक–पटक आग्रह गर्दा पनि मेयर पौडेलले समय नदिएकाले यहाँ काममा ढिलाइ भएको हो।“

तर, आयोजनाका पश्चिम खण्ड प्रमुख जगत प्रजापतिले समस्या समाधानका लागि छलफल तथा समन्वय जारी रहेको जानकारी दिएका छन् । उनले स्थानीय तहसँग समन्वय गर्दै काम अघि बढाउने प्रयास भइरहेको उल्लेख गरे ।

यता उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीका अनुसार इटहरीमा बन्ने भनिएको ओभर पासका कारण विवाद सृजना भएको हो । ‘वालवाला पास बनाउने भन्ने कुरा छ । हामीले इटहरीमा पिल्लरवाला पास बनाउने भन्ने कुरा गरेका छौँ ।’ उनले भने ।

पराजुलीले इटहरीमा बनाइने भनेको ड्याममा सहमति नहुने बताउँदै स्थानीयसँगको सहमतिमा निकास निस्कन सक्ने बताएका छन् । उनले अहिलेकै ओभर पासको नक्सामा सहमति गर्न नसकिने बताए । वालवाला पास बनाउँदा खर्च बढ्ने भएको भन्दै आयोजना तर्किएको समेत आरोप अध्यक्ष पराजुलीले बताए । 

यस्तै इटहरी उपमहानगरपालिकाकी उपमेयर सङ्गीताकुमारी चौधरीले इटहरीमा देखिएको विवादलाई सहमतिका साथ लैजान सकिने बताइन । उनले प्रदेशखबरसंगको कुराकानीका क्रममा भनिन्, स्थानीय र आयोजनाका बिचमा कुरा मिलिरहेको छैन यसलाई सहमतिका साथ लैजान सकिन्छ ।

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार